Breaking Nepal

विराटनगर / कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले तीनदिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन गर्ने भएको छ । माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने मिशनले प्रदेशभित्र उद्योग–व्यवसायबीचको अन्तरसम्बन्ध विस्तार र लगानीका सम्भावना पहिचानमा जोड दिने संगठनले जनाएको छ ।
औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय–व्यवसाय (बिटुबी) साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित सुरु हुन लागेको मिशनअन्तर्गत संगठनको प्रतिनिधिमण्डलले उदयपुर, खोटाङ र भोजपुर जिल्लाको भ्रमण गर्नेछ । भ्रमणका क्रममा स्थानीय उद्योगी–व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया गरी लगानी, उत्पादन, बजार विस्तार र सहकार्यका सम्भावनाबारे छलफल गरिनेछ ।
प्रतिनिधिमण्डलमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनियासहित कार्यसमिति सदस्य, महिला तथा युवा उद्यमी र संगठनका महानिर्देशक चुडामणि भट्टराई सहभागी छन् ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार कोशी कनेक्ट व्यावसायिक मिशनले क्षेत्रीय व्यापार सुदृढीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र साझा समृद्धिको मार्ग निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । “निजी क्षेत्रको अग्रणी संस्थाका रूपमा उद्योग संगठन मोरङले यस अभियानमार्फत पहाड र तराईलाई साझा विकासको यात्रामा जोड्दै व्यवसायबीचको सम्बन्ध विस्तार, ज्ञान र विचार आदान–प्रदान तथा आर्थिक एजेन्डामा साझा आवाज निर्माण गर्न पहल गरेको हो,” उनले भने ।
अध्यक्ष राठीले कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘कोशी पर्यटन वर्ष २०८२’ अभियानलाई समर्थन गर्दै निजी क्षेत्रको नेतृत्वमा पर्यटन प्रवर्द्धन, क्षेत्रीय सम्बन्ध विस्तार र आपसी सहकार्य मजबुत बनाउन पनि मिशन सहयोगी हुने विश्वास व्यक्त गरे ।
संगठनका अनुसार ‘कोशी कनेक्ट’ व्यावसायिक मिशनले अन्तरजिल्ला व्यापारिक सञ्जाल र साझेदारी स्थापना, लगानी तथा व्यापारका अवसरको प्रवर्द्धन, ‘मेरो देश मेरै उत्पादन’ अभियानमार्फत स्वदेशी उत्पादनको बजार विस्तार, बिटुबी प्लेटफर्ममार्फत व्यवसायलाई भर्चुअल रूपमा जोड्ने, उद्यमशीलता र नवप्रवर्तन प्रोत्साहन तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रमअनुसार माघ २ गते त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाट, माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघ र माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीय उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरिनेछ । उद्योग संगठन मोरङले यस मिशनले कोशी प्रदेशको निजी क्षेत्रबीच दीर्घकालीन साझेदारी र साझा विकासको आधार निर्माण गर्ने विश्वास लिएको छ ।