Breaking Nepal

विराटनगर / पूर्वी नेपालको उद्योग–व्यापारका लागि बहुप्रतीक्षित प्रत्यक्ष रेल कार्गो सेवा औपचारिक रूपमा सुरु भएको छ । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आईसीपी) अन्तर्गत रहेको नेपाल कस्टम यार्डमा पहिलोपटक कार्गो रेल आइपुगेपछि पूर्वी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अध्याय सुरु भएको मानिएको छ ।
कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका आयातित कच्चा पदार्थ बोकेको रेल विराटनगरसम्म प्रत्यक्ष आइपुगेको हो । पहिलो चरणमा ४० फिटका ४० वटा कन्टेनरमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आवश्यक कच्चा पदार्थ ल्याइएको छ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएकाले ढुवानी प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र निगरानीयोग्य बनाउने अपेक्षा गरिएको छ ।
यसअघि तेस्रो मुलुकबाट रेलमार्फत आउने मालवाहक कन्टेनर वीरगञ्ज भन्सारसम्म मात्र पुग्ने व्यवस्था थियो । त्यहाँबाट सडकमार्फत विराटनगर तथा पूर्वी नेपालका विभिन्न औद्योगिक क्षेत्रमा सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । नयाँ सेवासँगै अब कोलकाता बन्दरगाहबाट आएका कन्टेनर सिधै विराटनगर भन्सारसम्म आइपुग्ने भएकाले अतिरिक्त ढुवानी, समय र लागत उल्लेख्य रूपमा घट्ने विश्वास गरिएको छ ।
विशेषगरी मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरू यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । कच्चा पदार्थ छिटो प्राप्त हुने, आपूर्ति शृङ्खला थप व्यवस्थित बन्ने तथा उत्पादन लागत नियन्त्रणमा सहयोग पुग्ने उद्योगीहरूको विश्वास छ । यसले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै निर्यातमुखी उत्पादनलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सडक ढुवानीमा हुने ट्राफिक जाम, दुर्घटनाको जोखिम, इन्धन खर्च तथा मौसमजन्य अवरोधसमेत रेल सेवाले न्यून गर्नेछ । यसले आयात–निर्यात प्रक्रियालाई थप प्रभावकारी बनाउँदै व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने देखिएको छ ।
विराटनगर आईसीपीमा रेल कार्गो सेवा सञ्चालनसँगै पूर्वाधारको उपयोगिता पनि बढेको छ । यसले विराटनगर भन्सारको कार्यसम्पादन क्षमता विस्तार गर्नुका साथै राजस्व संकलन, व्यापारिक गतिविधि र लगानी आकर्षणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय व्यापार सञ्जालसँग अझ सशक्त रूपमा जोड्ने आधार तयार भएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको भनाइ छ । उनले अब ढुवानी लागत ४० प्रतिशतसम्म कम पर्ने बताए ।
सरकारले व्यापार लागत घटाउने, भन्सार प्रक्रियालाई आधुनिकीकरण गर्ने तथा बहुआयामिक ढुवानी प्रणालीलाई प्रवर्द्धन गर्ने नीतिअनुरूप विराटनगरसम्म प्रत्यक्ष रेल कार्गो सेवा विस्तारलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
उदघाटनको तीन वर्षभन्दा लामो समयपछि कार्गो रेल आउँदा निकै खुसी लागेको नेपाल उद्योग परिसंघका अध्यक्ष पवनकुमार सारडा बताउँछन् । ‘अब चाहिं नियमित कार्गो रेल सञ्चालन होस् भन्ने निजी क्षेत्रको आग्रह छ,’ उनले भने, ‘डाइरेक्ट कार्गो रेलमार्फत सामान ल्याउँदा उत्पादन लागतमा कमी आई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नसमेत सहज हुनेछ । नेपाली उपभोक्ताले पनि सस्तोमा सामान पाउने अवस्था सिर्जना हुन्छ ।
भारतको बथनाहादेखि विराटनगरको बुधनगर (आईसीपी)सम्मको कार्गो रेल सेवाको औपचारिक उद्घाटन सन् २०२३ जुन १ अर्थात २०८० जेठ १८ भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । उदघाटनका क्रममा आएको रेल त्यसपछि फर्किएको थिएन ।