आर्या न्युरो हस्पिटलमा जटिल ब्रेन ट्युमरको सफल शल्यक्रिया, १६ दिनमै बिरामी डिस्चार्ज

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ १८:५०

विराटनगर / विराटनगरस्थित आर्या न्युरो हस्पिटलले जटिल प्रकृतिको ब्रेन ट्युमरको सफल शल्यक्रिया गर्दै अर्को उल्लेखनीय चिकित्सकीय सफलता हासिल गरेको छ ।

हस्पिटलका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१२ निवासी १८ वर्षीय मोहम्मद अफरोज मियाँको मस्तिष्कको पछिल्लो भाग (पोस्टेरियर फोसा) मा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

बिरामीलाई गत असार २१ गते अस्पतालमा भर्ना गरिएको थियो । आवश्यक परीक्षण, विशेषज्ञ चिकित्सकको निगरानी तथा शल्यक्रियापछि साउन ४ गते सोमबार डिस्चार्ज गरिएको अस्पतालका संस्थापक अध्यक्ष डा. पंकजराज नेपालले जानकारी दिए । उनी १६ दिन अस्पतालमा उपचाररत रहेका थिए ।

नेपालका अनुसार बिरामीको मस्तिष्कको पछिल्लो भागमा रहेको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । उपचारपश्चात् बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको र थप नियमित फलोअपका लागि परामर्शसहित घर पठाइएको जनाइएको छ ।

बिरामी मियाँले आर्या न्यूरो अस्पताले आफूलाई दोस्रो जीवन दिएको बताए । उनले सफल उपचार गरिदिएकोमा अस्पताल र उपचारमा संलग्नलाई धन्यवादसमेत दिए ।

आर्या न्युरो हस्पिटलले न्युरोसर्जरी, मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल रोगहरूको उपचारमा आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालक दिनेश ठाकुरले बताए । अस्पतालले समयमै उपचार र विशेषज्ञ सेवाको पहुँचले जटिल न्युरोसम्बन्धी समस्याको पनि सफल व्यवस्थापन सम्भव भएको उल्लेख गरेको छ । समयमा उपचार नहुँदा आँखा नदेख्ने र शरीरको सन्तुलन गुम्ने समस्या बढ्दै जाने गरेको छ ।