नवनियुक्त सञ्चार प्रतिष्ठान नेतृत्वलाई महासंघको बधाई, पत्रकार हितलाई पहिलो प्राथमिकता दिन आग्रह

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ १८:४७

विराटनगर / नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेश सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष, रजिष्ट्रार तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै प्रदेशका पत्रकारहरूको पेशागत अधिकार, क्षमता विकास र कल्याणका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

महासंघको प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दीपक दाहाल, रजिष्ट्रार लीलाराम भट्टराई तथा सदस्यहरू रमेशचन्द्र अधिकारी, ध्रुव ढकाल, माला पालुङ्वा, शान्ति दाहाल, रेणु पराजुली र विष्ण पोखरेललाई खादा तथा मालाले सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चार प्रतिष्ठानले प्रदेशभरका पत्रकारको साझा संस्थाका रूपमा निष्पक्ष, पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, तालिम, अनुसन्धान, सञ्चार क्षेत्रको संस्थागत विकास तथा प्रेस स्वतन्त्रताको संरक्षणलाई प्रतिष्ठानले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

महासंघका सल्लाहकार लीलाबल्लभ घिमिरे र विक्रम लुइँटेल, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हेमा जेम्जोङ, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक तथा सञ्चारिका समूह कोशी प्रदेशकी महासचिव जुनु भट्टराई लगायतले पनि प्रतिष्ठानले कुनै राजनीतिक वा संगठनगत प्रभावभन्दा माथि उठेर सम्पूर्ण पत्रकारको हितमा समान अवसर र सेवा सुनिश्चित गर्नुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले प्रदेश सरकारको सञ्चारसम्बन्धी नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, पत्रकारहरूको सीप विकास, डिजिटल पत्रकारिताको प्रवर्द्धन, श्रम अधिकार, दुर्घटना तथा स्वास्थ्य सुरक्षा, महिला र युवा पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको दिगो विकासमा प्रतिष्ठानले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष दीपक दाहालले प्रतिष्ठानलाई संस्थागत रूपमा शून्य अवस्थाबाट निर्माण गर्नुपर्ने चुनौती रहेको बताए। कानुनी, प्रशासनिक तथा भौतिक संरचना निर्माणसँगै आवश्यक कार्यविधि तयार गरी प्रतिष्ठानलाई प्रभावकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

रजिष्ट्रार लीलाराम भट्टराईले पनि प्रारम्भिक चरणमा स्रोत–साधन र संरचनागत चुनौती रहे पनि पत्रकार समुदाय, सञ्चारसम्बद्ध संस्था तथा प्रदेश सरकारको सहकार्यबाट प्रतिष्ठानलाई परिणाममुखी बनाउन सकिने विश्वास व्यक्त गरे।

उनले पत्रकारको पेशागत क्षमता विकास, कल्याणकारी कार्यक्रम सञ्चालन, सञ्चार क्षेत्रसँग सम्बन्धित अध्ययन–अनुसन्धान, अभिलेखीकरण तथा आधुनिक प्रविधिमा आधारित पत्रकारिता प्रवर्द्धनलाई प्रतिष्ठानको प्राथमिक कार्यसूचीमा राखिने जानकारी दिए ।

कोशी प्रदेश सरकारले स्थापना गरेको सञ्चार प्रतिष्ठानले प्रदेशका सञ्चार क्षेत्रको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि, सञ्चारसम्बन्धी अध्ययन–अनुसन्धान, नीति कार्यान्वयनमा सहजीकरण तथा पत्रकारहरूको पेशागत हित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसै अपेक्षाबीच पत्रकार महासंघले नवनियुक्त नेतृत्वलाई सबै पत्रकारप्रति समान व्यवहार गर्दै विश्वासिलो र परिणाममुखी संस्थाका रूपमा प्रतिष्ठानलाई स्थापित गर्न आग्रह गरेको छ ।