Breaking Nepal

विराटनगर / प्रेस चौतारी नेपाल मोरङले प्रदान गर्दै आएको ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष वरिष्ठ पत्रकार पुष्पराज थपलियालाई प्रदान गर्ने निर्णय गरेको छ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कनका आधारमा थपलियालाई पुरस्कारका लागि छनोट गरिएको प्रेस चौतारी मोरङले जनाएको छ। पुरस्कार आगामी साउन १५ गते आयोजित विशेष समारोहमा प्रदान गरिनेछ।
प्रेस चौतारी मोरङका सचिव नवराज भट्टराईका अनुसार संस्थाको बैठकले थपलियालाई १५ हजार ५ सय रुपैयाँ राशी सहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
प्रेस चौतारी मोरङका संस्थापक सदस्यसमेत रहेका थपलिया विराटनगरबाट सञ्चालित खबरपूर्वाञ्चल अनलाइन समाचार पोर्टलका सञ्चालक हुन्। उनले लामो समयदेखि मोफसल पत्रकारितामा सक्रिय रहँदै समाचार सम्प्रेषण, सम्पादन तथा पत्रकारिताको व्यावसायिक विकासमा योगदान पुर्याउँदै आएका छन्।
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपेन नेउपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सीना, रामचन्द्र अधिकारी, कमल पौडेल, विक्रम लुइटेल, इन्दिरा भट्टराई, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी तथा सुदीप कोइराला लगायतका पत्रकार सम्मानित भइसकेका छन्।