Breaking Nepal

काठमाडौं / सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित हुने परिवारलाई पुनर्स्थापनाका लागि प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नदी किनार क्षेत्रका अव्यवस्थित तथा जोखिमयुक्त बस्ती हटाउँदा प्रभावित हुने परिवारको विवरण प्रमाणीकरण गरी पुनर्स्थापना खर्चबापत उक्त रकम एकमुष्ट प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराइने जानकारी दिए । उनका अनुसार सम्बन्धित निकायमार्फत विस्थापित परिवारको विवरण रुजु गरेपछि सहायता रकम वितरण गरिनेछ ।
सरकारले काठमाडौं उपत्यकाभित्र नदी अतिक्रमण नियन्त्रण, बाढी जोखिम न्यूनीकरण तथा नदी करिडोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नदी किनारका बस्ती हटाउने अभियान अघि बढाइरहेको छ। यही क्रममा प्रभावित परिवारलाई न्यूनतम पुनर्स्थापना सहयोग उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ ।