Breaking Nepal

जनकपुर / कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै सत्ता समीकरणभित्र नयाँ शक्ति सन्तुलन कायम गर्ने प्रयास गरेको छ । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले पाँच मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारको राजनीतिक र प्रशासनिक समीकरण नयाँ ढंगले अघि बढ्ने संकेत देखिएको छ ।
नवनियुक्त मन्त्रीहरूमा अर्थ मन्त्रालयको जिम्मेवारी युवराज भट्टराई लाई दिइएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयमा मोहम्मद समिर नियुक्त भएका छन् । त्यसैगरी श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी शारदादेवी थापा ले सम्हाल्ने भएकी छन् ।
युवा तथा समाज कल्याण मन्त्रालयमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रालयमा मनोज सिंह नियुक्त भएका छन् ।
यसैबीच, कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा पनि फेरबदल गरिएको छ । स्वास्थ्यमन्त्रीमा नगेन्द्र शाह नियुक्त भएका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका जंगीलाल राय लाई सरकारबाट बाहिरिएको छ ।
प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारभित्र दलगत भागबण्डा, शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिलाई लिएर नयाँ बहस सुरु भएको छ ।
सरकार विस्तारलाई सत्ता साझेदार दलहरूबीचको समन्वय सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ भने आर्थिक, पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता महत्त्वपूर्ण मन्त्रालयमा गरिएको नयाँ नियुक्तिले प्रदेश सरकारको कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।