Breaking Nepal

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भ्रमणको तेस्रो दिन प्रधानमन्त्री मोदीसँग शिष्टाचार तथा समसामयिक राजनीतिक विषयमा संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भारत भ्रमणका क्रममा लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गरेका थिए। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको भेटमा दुवै नेताबीच युवापुस्ताको राजनीतिमा बढ्दो सहभागिता, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण, सार्वजनिक बहसको विस्तार तथा भावी नेतृत्व निर्माणका विषयमा विचार आदानप्रदान भएको थियो।
भ्रमणका क्रममा लामिछानेलाई भाजपा नेतृत्वले औपचारिक स्वागत गरेको र दुई देशबीचको राजनीतिक तथा जनस्तरीय सम्बन्धका विविध आयामबारे पनि छलफल भएको स्रोतले जनाएको छ।
लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा अविनाश आचार्य पनि भारत भ्रमणमा सहभागी छन्।
सोमबार भारत प्रस्थान गरेको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। राजनीतिक संवाद, अनुभव आदानप्रदान तथा सम्बन्ध विस्तारलाई केन्द्रमा राखेर भइरहेको यो भ्रमणलाई रास्वपाले आफ्नो अन्तर्राष्ट्रिय सम्पर्क विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।