उद्योग संगठन मोरङको आयोजनामा ‘सीप उत्सव सम्पन्न, उद्योगसँग विद्यार्थीको प्रत्यक्ष साक्षात्कार

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ १९:०६

विराटनगर / उद्योगमा आवश्यक दक्ष जनशक्ति अभाव र शिक्षालयबाट उत्पादित जनशक्तिको सीपबीचको दूरी घटाउने उद्देश्यसहित आयोजित ‘सीप उत्सव २०८३’ विराटनगरमा सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा भएको उत्सवले एक हजारभन्दा बढी विद्यार्थीलाई उद्योग, रोजगारी, उद्यमशीलता र करियर अवसरसँग प्रत्यक्ष जोड्दै सीप विकासको महत्त्व उजागर गरेको छ ।

‘सीपका लागि उद्योग, करियरका लागि भविष्य’ भन्ने मूल नारासहित आयोजित उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । आयोजकका अनुसार कार्यक्रमलाई परम्परागत प्रदर्शनीभन्दा फरक ढंगले ‘करियर जर्नी’ अवधारणामा आधारित बनाइएको थियो, जहाँ सहभागीहरूले आफ्नो रुचि, क्षमता, सम्भावित पेशा तथा उद्योग क्षेत्रसँगको सम्बन्धलाई अनुभवात्मक रूपमा बुझ्ने अवसर पाए ।

समापन समारोहमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रले खोज्ने दक्ष जनशक्ति र शिक्षाबाट उत्पादन हुने जनशक्तिबीच अझै ठूलो अन्तर रहेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न संगठनले अप्रेन्टिसिप, उद्योग अवलोकन तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले उद्योगमै आधारित सिकाइ प्रणाली विस्तार गर्न सके युवाहरूलाई अध्ययनसँगै रोजगारीको अवसर सिर्जना गर्न सहज हुने धारणा राखे । ‘उद्योगलाई दक्ष जनशक्ति चाहिएको छ, युवालाई अवसर चाहिएको छ,’ उनले भने, ‘यी दुईलाई जोड्ने पुलका रूपमा यस्ता कार्यक्रम प्रभावकारी बनेका छन् ।’

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले प्रदेशको आर्थिक रूपान्तरणका लागि सीपयुक्त मानव स्रोत अपरिहार्य रहेको बताए । उनले विद्यालय र उद्योगबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै युवाहरूलाई रोजगारी खोज्ने मात्र होइन, उद्यम सिर्जना गर्ने मानसिकता विकास गर्न आग्रह गरे ।

‘आजको प्रतिस्पर्धी विश्वमा प्रमाणपत्रभन्दा सीपको मूल्य बढ्दै गएको छ। युवाहरूले नवीन सोच, प्रविधि र उद्यमशीलतालाई आत्मसात् गर्नुपर्छ,’ उनले भने ।

उद्योग संगठन मोरङका कार्यसमिति सदस्य तथा मानव संशाधन विकास समितिका संयोजक दीपक अग्रवालका अनुसार उत्सवमा १० वटा सिकाइ तथा अनुभवात्मक जोन सञ्चालन गरिएको थियो। ती जोनमार्फत विद्यार्थीहरूले करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन, उद्यमशीलता तथा रोजगारी सम्भावनाबारे जानकारी प्राप्त गरेका थिए ।

उत्सव अन्तर्गत प्रेरणादायी सत्र, करियर काउन्सिलिङ, ‘करियर ट्री’, ‘मेरो देश, मेरै उत्पादन’, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा, नवप्रवर्तन तथा उद्यमशीलता प्रदर्शनी लगायतका गतिविधि सञ्चालन गरिएका थिए । सहभागी विद्यार्थीहरूले उद्योगमा प्रयोग हुने आधुनिक प्रविधि, उत्पादन प्रक्रिया र व्यवसाय सञ्चालनका विविध पक्षबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

सीप प्रतिस्पर्धातर्फ अटोमोबाइल विधामा महमोहन स्मृति पोलिटेक्निक हात्तीमुडाका मोहम्मद जेसन अन्सारी, होटल व्यवस्थापनतर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीकी आकृति पौडेल तथा सूचना प्रविधितर्फ कन्काई पोलिटेक्निकका मनीष घिमिरे उत्कृष्ट घोषित हुँदै ‘स्किल आइकन २०८३’ बने। विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न उद्योग, शिक्षालय र सरकारबीच त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताए । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले सीप उत्सवले युवाहरूलाई सीपदेखि करियरसम्मको यात्रालाई व्यवहारिक रूपमा बुझ्ने अवसर दिएको उल्लेख गरे ।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो भविष्यबारे स्पष्ट दृष्टिकोण बनाउन तथा स्थानीय स्तरमा रहेका अवसर पहिचान गर्न मद्दत पुग्ने बताए ।

पछिल्ला वर्षहरूमा युवाको वैदेशिक पलायन बढिरहेका बेला उद्योग क्षेत्रले आवश्यक जनशक्ति नपाउने समस्या झेलिरहेको छ । यस्तो अवस्थामा सीप विकास, उद्योग–शिक्षा सहकार्य र रोजगारमुखी शिक्षालाई प्राथमिकता दिने कार्यक्रमहरूलाई दीर्घकालीन रूपमा विस्तार गर्नुपर्ने आवश्यकता सरोकारवालाहरूले औँल्याएका छन् ।