Breaking Nepal

विराटनगर । विद्यालय जाने–आउने विद्यार्थीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित प्याब्सन विराटनगरले विद्यालय बसका चालक तथा सह–चालकलाई लक्षित गरेर सडक सुरक्षा तथा ट्राफिक सचेतना अभियानलाई तीव्र बनाएको छ ।
यसअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा आयोजित एकदिने ‘सडक सुरक्षा तथा ट्राफिक नियम’ सम्बन्धी कार्यशालामा विराटनगरका विभिन्न निजी विद्यालयमा कार्यरत १५५ जना चालक तथा सह–चालक सहभागी भएका छन् ।
कार्यशालामा विद्यालय सवारी सञ्चालनका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्ड, दुर्घटना न्यूनीकरणका उपाय, यात्रु सुरक्षाको व्यवस्थापन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा आपत्कालीन अवस्थाको व्यवस्थापनबारे विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले विद्यालय बस चालकहरूको जिम्मेवारी अन्य सार्वजनिक सवारीभन्दा बढी संवेदनशील हुने उल्लेख गर्दै विद्यार्थीको सुरक्षालाई केन्द्रमा राखेर सवारी सञ्चालन गर्न आग्रह गरे । उनले ट्राफिक संकेत, गति नियन्त्रण, ओभरटेकसम्बन्धी नियम, विद्यालय क्षेत्रभित्र अपनाउनुपर्ने सावधानी तथा दुर्घटना रोकथामका व्यवहारिक उपायबारे प्रशिक्षण दिएका थिए ।
उनका अनुसार पछिल्लो समय सडक दुर्घटनाको प्रमुख कारणमध्ये चालकको असावधानी, ट्राफिक नियम उल्लंघन र सुरक्षा सचेतनाको अभाव पनि एक भएकाले नियमित अभिमुखीकरण आवश्यक बनेको छ ।
कार्यक्रमका अध्यक्ष तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर मात्र नभई विद्यार्थीको आवागमन सुरक्षालाई पनि संस्थागत प्राथमिकतामा राखिएको बताए । उनले विद्यालय बस चालक र सह–चालकलाई विद्यार्थीका अभिभावकसरह जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे ।
‘विद्यालयको सवारी साधन सञ्चालन गर्नु केवल गाडी चलाउने काम होइन, सयौं परिवारको भरोसा र बालबालिकाको सुरक्षाको जिम्मेवारी वहन गर्नु हो,’ उनले भने, ‘सडकमा हुने सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले ट्राफिक नियमको पूर्ण पालना र उच्च सतर्कता अनिवार्य छ ।’
प्याब्सन विराटनगरले विद्यालय सवारी व्यवस्थापनलाई थप सुरक्षित, व्यवस्थित र उत्तरदायी बनाउन आगामी दिनमा नियमित तालिम, स्वास्थ्य परीक्षण, चालकको दक्षता अभिवृद्धि तथा विद्यालय बसको प्राविधिक परीक्षणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाको संख्या बढ्दै जाँदा सुरक्षित यातायात व्यवस्थापन शिक्षण संस्थाहरूको महत्वपूर्ण दायित्व बन्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गरिएको यस्तो प्रशिक्षणले चालक तथा सह–चालकमा जिम्मेवारीबोध बढाउने र विद्यालय बसलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
विद्यालय सवारीमा सुरक्षा मापदण्डको कडाइका साथ पालना, चालकको नियमित क्षमता अभिवृद्धि र ट्राफिक अनुशासनको प्रभावकारी कार्यान्वयनले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । यस दृष्टिले प्याब्सन विराटनगरको पहललाई विद्यार्थी सुरक्षामुखी सकारात्मक अभियानका रूपमा हेरिएको छ ।