Breaking Nepal

काठमाडौं / चितवनको नारायणगढबाट अपहरण गरिएका १६ वर्षीय एक किशोरलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार साँझ नारायणगढ क्षेत्रबाट पाँच–छ जनाको समूहले भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गरी किशोरलाई अपहरण गरेर काठमाडौं ल्याएको थियो। अपहरणकारीहरूले उनलाई काठमाडौंको एक होटलमा बन्धक बनाई परिवारसँग फिरौती रकम मागेका थिए।
परिवारजनबाट पैसा मागिएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले खोजतलास तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा बसपार्क क्षेत्रस्थित एक होटलबाट किशोरको सकुशल उद्धार गरिएको कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्यका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद तथा अर्का एक गोलु कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि तथा अपहरणको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
अपहरणजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको सञ्जाल, सम्भावित आर्थिक लेनदेन तथा अन्य पक्षबारे पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।