Breaking Nepal

विराटनगर / अत्यधिक भार बोकेर सञ्चालन गरिएको भारतीय मालवाहक ट्रक विराटनगरमा दुर्घटनाको जोखिममा परेको छ । मकै लोड गरिएको ट्रक सडकको एक छेउतर्फ असन्तुलित भई ढल्किएपछि दुर्घटनाको सम्भावना बढेको हो ।
विराटनगर महानगरपालिका–स्थित मलाया सडकखण्डमा रहेको डेबी विद्यालय अगाडि भारतबाट आएको बीआर ५० जी ९७१९ नम्बरको मालवाहक ट्रक सडक किनारातर्फ झुकेर अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक रूपमा ट्रकमा निर्धारित क्षमताभन्दा बढी मकै लोड गरिएकाले सन्तुलन गुम्न पुगेको अनुमान गरिएको छ ।
घटनापछि स्थानीय क्षेत्रमा केही समय आवागमन प्रभावित बनेको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानी तथा ट्राफिक प्रहरी पोस्ट रानीको संयुक्त टोली घटनास्थलमा पुगेर ट्रकलाई सुरक्षित व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना रोक्ने कार्यमा जुटेको छ ।
प्रहरीका अनुसार घटनाबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको छैन । ट्रकलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
सडक सुरक्षासम्बन्धी मापदण्ड बेवास्ता गर्दै क्षमताभन्दा बढी भार बोकेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले यस्ता जोखिमपूर्ण अवस्था सिर्जना हुने गरेको भन्दै सरोकारवालाले मालवाहक सवारीको नियमित अनुगमन र कडाइ आवश्यक रहेको बताएका छन् ।