कारागारभित्र दुई कैदी हत्या : सात प्रहरीसहित १५ जनालाई जन्मकैद, पीडित परिवारले पाउने भए क्षतिपूर्ति

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ २०:०५

खाँदबारी / सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीभित्र दुई कैदीको ज्यान जाने घटनामा अदालतले सात प्रहरीसहित १५ जनालाई जन्मकैद सजाय सुनाएको छ । करिब तीन वर्षअघि कारागारभित्र भएको सामूहिक कुटपिटबाट दुई कैदीको मृत्यु भएको घटनामा जिल्ला अदालत सङ्खुवासभाले कठोर फैसला गर्दै दोषी ठहर भएका सबैलाई आजीवन कारावासको सजाय निर्धारण गरेको हो ।

जिल्ला अदालतका अनुसार २०८० साउन २४ गते कारागारबाट भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका दुई कैदीमाथि सुरक्षाकर्मी र अन्य कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेका थिए । उक्त घटनामा मादी नगरपालिका–५ सङ्खुवासभाका विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानपछि कारागारभित्र भएको कुटपिट योजनाबद्ध र सामूहिक रहेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको थियो । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै सात प्रहरी र आठ कैदीबन्दीलाई जन्मकैदको सजाय सुनाएको अदालतले जनाएको छ ।

फैसलाअनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो तथा सुरक्षा गार्ड नुसन राईसहित घटनामा संलग्न अन्य व्यक्तिहरू दोषी ठहरिएका छन् । त्यस्तै कारागारभित्रका चौकीदार, नाइके तथा कैदीबन्दीहरूलाई पनि समान सजाय सुनाइएको छ ।

अदालतले पीडित परिवारलाई राहतस्वरूप दोषीहरूमार्फत जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ । मृतक दुवैका नजिकका हकदारले उक्त रकम प्राप्त गर्नेछन् ।

कारागारभित्र सुरक्षाको जिम्मेवारी वहन गर्ने निकाय र कैदीबन्दी स्वयंको संलग्नतामा भएको यो घटना नेपालको कारागार व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको थियो । अदालतको पछिल्लो फैसला कारागारभित्र हुने मानवअधिकार उल्लंघन र हिरासतजन्य हिंसाका घटनाप्रति शून्य सहनशीलताको सन्देशका रूपमा समेत व्याख्या गरिएको छ ।

घटनापछि पक्राउ परेका प्रहरी कर्मचारीलाई धनकुटा तथा संलग्न कैदीबन्दीलाई तेह्रथुम कारागारमा स्थानान्तरण गरी अनुसन्धान अघि बढाइएको थियो । लामो न्यायिक प्रक्रियापछि अदालतले अन्ततः दोषीमाथि कडा सजाय सुनाएको हो ।