झापामा टिपर–साइकल ठोक्किँदा वृद्धको मृत्यु, टिपर चालक नियन्त्रणमा

Breaking Nepal

बुधबार ,असार ३ , २०८३ १०:१९

झापा / झापाको गौरादहमा टिपर र साइकल ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मादक पदार्थ सेवन गरी साइकल चलाइरहेका व्यक्तिको दुर्घटनामा परी ज्यान गएको हो।

मंगलबार राति गौरादह नगरपालिका–१ स्थित पाडाजुंगी–गौरीगन्ज भित्री सडकखण्डमा भएको दुर्घटनामा गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ। नवदुर्गा पेट्रोल पम्प नजिकै भएको घटनामा डिपु चोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका गुरागाईंलाई तत्काल उद्धार गरी दमक अस्पताल पुर्‍याइएको थियो। तर उपचार सुरु गर्नुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले टिपरसहित चालक गौरादह–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक तथ्यले गुरागाईंले मादक पदार्थ सेवन गरेको अवस्था रहेको संकेत गरेको छ। सोही आधारमा दुर्घटनाको सबै पक्षको विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।