समाजसेवी अग्रवालसितको सहकार्यमा महानगरको प्रवेशद्वारमा फिल्डरयुक्त शीतल जल सेवा सञ्चालन

Breaking Nepal

बुधबार ,असार ३ , २०८३ ११:१६

विराटनगर / बढ्दो गर्मीका बीच सर्वसाधारण, यात्रु तथा सेवाग्राहीलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा निःशुल्क फिल्टरयुक्त शीतल जल सेवा सञ्चालनमा आएको छ । सार्वजनिक हितलाई केन्द्रमा राखेर स्थापना गरिएको यो सेवाले दैनिक आवतजावत गर्ने हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

महानगरको प्रवेश क्षेत्रमा जडान गरिएका दुई वटा आधुनिक फिल्टरयुक्त धारा बुधबार एक कार्यक्रमबीच सञ्चालनमा ल्याइएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले धाराको उद्घाटन गर्दै निजी क्षेत्र र सामाजिक व्यक्तित्वहरूको सहकार्यबाट सार्वजनिक सेवाको दायरा विस्तार हुनु सकारात्मक संकेत भएको बताए ।

उनले पछिल्लो समय तापक्रम वृद्धि भइरहेका बेला शुद्ध तथा चिसो खानेपानीको सहज पहुँच नागरिकको आधारभूत आवश्यकता बनेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले नगरलाई अझ व्यवस्थित र मानवीय बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । महानगरले आगामी दिनमा सार्वजनिक स्थल, बसपार्क, बजार क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा यस्तै सुविधाहरू विस्तार गर्ने विषयमा समेत अध्ययन गरिरहेको जानकारी उनले दिए ।

उक्त शीतल जल सेवा विराटनगरका समाजसेवी तथा उद्योगी वंशीधर अग्रवाल परिवारको पहलमा स्थापना गरिएको हो । आफ्ना स्वर्गीय पिता अर्जुनदास अग्रवाल र माता गोमतीदेवी अग्रवालको स्मृतिमा निर्माण गरिएको यो संरचनाले सामाजिक उत्तरदायित्वप्रति निजी क्षेत्रको प्रतिबद्धता झल्काएको स्थानीयवासीको भनाइ छ ।

कार्यक्रममा बोल्दै उद्योगी तथा समाजसेवी देवकीनन्दन अग्रवालले समाजबाट प्राप्त अवसरलाई पुनः समाजकै हितमा उपयोग गर्ने उद्देश्यले परिवारले शीतल जल सेवा स्थापना गरेको बताए। उनले शुद्ध खानेपानीको पहुँच सबै नागरिकसम्म पुग्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा समेत यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारी, महानगरको सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियासहित जनप्रतिनिधि, महानगरका कर्मचारी, उद्योगी व्यवसायीहरु, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

विराटनगरमा पछिल्ला वर्षहरूमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी तथा सार्वजनिक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान बढ्दै गएको छ । सार्वजनिक स्थानमा शीतल जल सेवा सञ्चालनले गर्मी मौसममा डिहाइड्रेसनको जोखिम कम गर्नुका साथै यात्रुहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

स्थानीयवासीका अनुसार महानगर प्रवेश गर्ने नागरिकले अब शुद्ध र चिसो पानी निःशुल्क रूपमा उपभोग गर्न पाउने भएकाले यो सेवा केवल खानेपानीको सुविधा मात्र नभई सामाजिक सेवाको उदाहरणका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ । महानगर र निजी क्षेत्रबीचको सहकार्यबाट यस्ता जनहितमुखी परियोजना विस्तार हुँदै गएमा नगरवासीको जीवनस्तर सुधारमा थप टेवा पुग्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् ।