कोशीमा ग्यास आपूर्ति खुम्चियो, बजारमा मागको एकतिहाइ मात्रै उपलब्ध

Breaking Nepal

pen
अनुज सापकोटा
बुधबार ,असार ३ , २०८३ १०:४०

विराटनगर / एलपीजी ग्यास आपूर्तिमा आएको निरन्तर संकुचनका कारण कोशी प्रदेशमा उपभोक्ता र व्यवसायी दुवै मारमा परेका छन् । भारतबाट हुने आपूर्तिमा कटौती भएपछि बजारमा ग्यासको अभाव चुलिएको छ भने मागअनुसार सिलिण्डर उपलब्ध गराउन नसक्दा वितरण प्रणाली दबाबमा परेको छ ।

वितरकहरूका अनुसार हाल प्रदेशभर दैनिक आवश्यक पर्ने ग्यासको तुलनामा करिब एकतिहाइ मात्र आपूर्ति भइरहेको छ । यही कारण अधिकांश डिलरले नयाँ ग्राहकलाई ग्यास दिन बन्द गर्दै पुराना ग्राहकलाई समेत सीमित परिमाणमा मात्रै वितरण गरिरहेका छन् । बजारमा आधा सिलिण्डर भरेर वितरण गर्ने व्यवस्था लागू भए पनि त्यसले उपभोक्ताको समस्या समाधान गर्न सकेको छैन ।

एलपीजी ग्यास सिलिण्डर व्यवसायी संघ कोशीका अध्यक्ष सरलराज पोखरेलका अनुसार विराटनगर क्षेत्रमा दैनिक करिब २ हजार ५ सय सिलिण्डरको माग रहे पनि हाल ८ सयदेखि ९ सय सिलिण्डर मात्रै उपलब्ध भइरहेको छ । उद्योगबाट मागभन्दा निकै कम परिमाणमा ग्यास प्राप्त हुने भएकाले वितरण व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताए ।

ग्यास अभावको प्रत्यक्ष असर होटल तथा रेस्टुरेन्ट व्यवसायमा पनि देखिएको छ। दैनिक ठूलो परिमाणमा ग्यास खपत गर्ने व्यवसायीहरूले आवश्यक सिलिण्डर नपाउँदा सञ्चालन खर्च र व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन् । कतिपय व्यवसायले खपत घटाएर वैकल्पिक व्यवस्थाको खोजी गर्न थालेका छन् ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका अनुसार पछिल्ला केही महिनायता कोशी प्रदेशमा एलपीजी ग्यासको आपूर्ति निरन्तर घट्दो क्रममा छ । फागुनमा ७ हजार ६२ मेट्रिक टन ग्यास प्राप्त भएको प्रदेशमा चैतमा यो परिमाण घटेर ४ हजार ८०४ मेट्रिक टनमा सीमित भयो। वैशाखमा ४ हजार ५०६ मेट्रिक टन आपूर्ति भएकोमा जेठ २६ गतेसम्म जम्मा ३ हजार ४८३ मेट्रिक टन मात्रै प्रदेशमा भित्रिएको तथ्यांकले देखाउँछ ।

निगमका प्रादेशिक प्रमुख पुष्कर कार्कीले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण भारतबाट ग्यास आयात प्रभावित भएको बताए । विशेषगरी मध्यपूर्व क्षेत्रमा बढेको भू–राजनीतिक तनावले इन्धन ढुवानीमा असर परेको र त्यसको प्रभाव नेपालसम्म पुगेको उनको भनाइ छ ।

यद्यपि बरौनीबाट ग्यास बोकेका १५ देखि २० ट्याङ्कर नेपालतर्फ आउने क्रममा रहेकाले आगामी दिनमा आपूर्ति केही सहज हुने अपेक्षा गरिएको छ । निगमले उपलब्ध परिमाणलाई प्राथमिकताका आधारमा वितरण गरिरहेको जनाएको छ ।

उता जिल्ला प्रशासन कार्यालय मोरङले कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गर्दै सीमित उपलब्धतालाई सबैसम्म पुर्‍याउन सहयोग गर्न अनुरोध गरे ।

आपूर्ति असन्तुलन कायमै रहेमा आगामी केही सातासम्म बजारमा एलपीजी ग्यासको दबाब जारी रहने अनुमान गरिएको छ ।