खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ, लागुऔषध पनि बरामद

Breaking Nepal

बुधबार ,असार ३ , २०८३ १०:२४

दाङ / सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोका आधारमा युवतीमाथि दुर्व्यवहार तथा कुटपिटमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटनासँगै उनको साथबाट लागुऔषधजन्य ट्याब्लेटसमेत बरामद भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रमेश ठाडामगरलाई मंगलबार राति आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो । घटनामा संलग्न रहेको आशंकामा २१ वर्षीय जिबराज खत्रीलाई समेत हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानबाट केही महिनाअघि रातिको समयमा खिचिएको भिडियो हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको खुलेको छ । भिडियोमा एक युवकले स्थानीय २१ वर्षीया युवतीमाथि अशोभनीय व्यवहार गर्दै खुकुरीको बटतर्फ प्रयोग गरी आक्रमण गरेको दृश्य देखिएको छ ।

घटनापछि पीडित युवतीको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । यद्यपि सार्वजनिक रूपमा फैलिएको भिडियोले स्थानीय तहमा सुरक्षा र सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।

यसैबीच पक्राउ परेका ठाडामगरको साथबाट विभिन्न प्रकारका करिब ५० वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बरामद सामग्रीमा प्रेगाम्याक्स, ट्रोमो, एन्टिकोप तथा नाइट्राजेपाम समूहका औषधि रहेका छन् ।

प्रहरीले कुटपिट, अभद्र व्यवहार तथा लागुऔषध सम्बन्धी कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।