Breaking Nepal

खोटाङ / संघीय सरकारले बजेट विनियोजन नगर्दा लामो समयदेखि अलपत्र रहेको फोक्सिङटार पुल पुनर्निर्माणका लागि स्थानीय तह स्वयं सक्रिय बनेको छ । खोटेहाङ गाउँपालिकाले सुनकोसीमाथिको क्षतिग्रस्त पुल पुनः सञ्चालनमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दै व्यापक संयन्त्र गठन गरेको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटार पुल २०८१ असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएपछि यस क्षेत्रको यातायात र आर्थिक गतिविधि प्रभावित हुँदै आएको छ। पुल पुनर्निर्माणका लागि केन्द्र सरकारबाट ठोस पहल नदेखिएपछि स्थानीय स्तरमै प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए ।
असार २ गते गाउँपालिकाको सभाहलमा आयोजित सर्वदलीय बैठकले अध्यक्ष राईको संयोजकत्वमा १५१ सदस्यीय ‘फोक्सिङटार पुल निर्माण पहल समिति’ गठन गरेको छ । समितिले प्रारम्भिक चरणमा प्राविधिक अध्ययन, लागत अनुमान तथा पुनर्निर्माणको सम्भाव्यता मूल्यांकन गर्नेछ ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त पुल निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै बाढीले बीच भाग बगाएको थियो। करिब १२० मिटर लम्बाइ रहेको पुलको मध्यभागको ८० मिटर संरचना सुनकोसीले बगाएपछि सडक सञ्जाल पुनः अवरुद्ध बनेको हो ।
गाउँपालिकाले तत्कालका लागि पूर्ण पुल निर्माणभन्दा क्षतिग्रस्त मध्य खण्ड पुनर्स्थापनालाई प्राथमिकता दिने रणनीति बनाएको छ । प्राविधिक प्रतिवेदन तयार भएपछि जिल्लाका सबै स्थानीय तह, निजी क्षेत्र, कर्मचारी संगठन तथा सरोकारवालासँग समन्वय गरी आवश्यक स्रोत जुटाइने योजना रहेको जनाइएको छ ।
फोक्सिङटार पुल सञ्चालनबाहिर रहँदा खोटाङको आपूर्ति प्रणाली, निर्माण सामग्री ढुवानी, दैनिक उपभोग्य वस्तुको मूल्य र विकास आयोजनाको कार्यान्वयन प्रत्यक्ष प्रभावित भएको छ। पुल अभावमा वैकल्पिक रूपमा बेलिब्रिज जडान र हटाउने क्रम दोहोरिँदा राज्यलाई थप आर्थिक भारसमेत परेको स्थानीयको भनाइ छ ।
निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीले निर्माण गरेको उक्त पुल औपचारिक रूपमा सरकारी निकायलाई हस्तान्तरण हुनुअघि नै प्राकृतिक विपत्तिको मारमा परेको थियो। स्थानीय तहले अब पुनर्निर्माणको बहसलाई केन्द्र सरकारको प्रतिक्षामा नराखी व्यवहारिक समाधानतर्फ अघि बढाउने संकेत दिएको छ ।