Breaking Nepal

विराटनगर / नेपालमा सामाजिक कार्य शिक्षाको गुणस्तर अभिवृद्धि तथा व्यवहारिक अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विश्वविद्यालयका अध्यापनरत शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरको आयोजनामा सम्पन्न तालिममा पूर्वाञ्चल, त्रिभुवन र मध्यपश्चिम विश्वविद्यालयका ३१ जना शिक्षक सहभागी भएका थिए। तालिममार्फत सामाजिक कार्य शिक्षण, अनुसन्धान र समुदायमा आधारित अभ्यासलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने विषयमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिम समापन समारोहमा पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डीन प्राध्यापक रामप्रसाद ढकाल तथा चेक गणतन्त्रस्थित ओस्ट्राभा विश्वविद्यालय सामाजिक विज्ञान संकायकी डीन प्राध्यापक डा. सोना केन्द्रा वरोबाले सहभागीलाई प्रमाणपत्र वितरण गरे। उनीहरूले उच्च शिक्षाको गुणस्तर सुधार, सीप विकास र अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।
परियोजनाकी व्यवस्थापक एनिना पालोकन्गास, त्रिभुवन विश्वविद्यालयकी परियोजना संयोजक सुक्रिता राई, मध्यपश्चिम विश्वविद्यालयका संयोजक खगेन्द्रप्रसाद अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयका संयोजक पुकार चौधरीले तालिमले सामाजिक कार्य शिक्षण पद्धतिमा नवीन दृष्टिकोण विकास गर्न सहयोग पुगेको बताए।
सहभागीका तर्फबाट रोशनी त्रिपाठीले तालिमले व्यावसायिक दक्षता अभिवृद्धिसँगै अन्तरविश्वविद्यालयीय अनुभव आदानप्रदानको अवसर प्रदान गरेको बताइन्।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयबाट १०, त्रिभुवन विश्वविद्यालयबाट १४ तथा मध्यपश्चिम विश्वविद्यालयबाट सात शिक्षकको सहभागिता रहेको थियो। युरोपियन युनियनको सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत आयोजना गरिएको उक्त तालिममा युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डको समन्वय रहेको छ।
परियोजनामा चेक गणतन्त्रको ओस्ट्राभा विश्वविद्यालय, स्पेनको नेसनल युनिभर्सिटी अफ डिस्टान्स एजुकेशन, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालय साझेदार संस्थाका रूपमा आबद्ध छन्। तालिम प्राप्त शिक्षकहरूले आगामी दिनमा सामाजिक कार्य अध्ययनरत विद्यार्थी तथा यस क्षेत्रमा क्रियाशील संघसंस्थासँग सहकार्य गर्दै व्यवहारिक अभ्यासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।