विद्युतीय मतदानमार्फत रास्वपाले छान्दै नयाँ केन्द्रीय नेतृत्व, ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ ०८:०४

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको विद्युतीय मतदान तीव्र गतिमा अघि बढेको छ। गएरातिदेखि सुरु भएको मतदान प्रक्रिया निर्धारित समयभित्रै सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।

पार्टीको केन्द्रीय संरचना चयनका लागि जारी मतदानमा सहभागी प्रतिनिधिहरूले उत्साहजनक रूपमा मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन व्यवस्थापनमा संलग्न प्राविधिक टोलीका अनुसार बिहानसम्म उल्लेख्य संख्यामा प्रतिनिधिले मतदान गरिसकेका छन् भने मतदानको गति सन्तोषजनक रहेको छ।

निर्वाचन प्रक्रियामा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको छ। मतदानको औसत समय कम भएकाले तोकिएको मध्याह्नसम्म सम्पूर्ण प्रक्रिया सकिने अनुमान गरिएको निर्वाचन व्यवस्थापन पक्षको भनाइ छ।

महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिँदै छ। त्यसका लागि विभिन्न पदमा गरी ३८४ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनमा करिब ४ हजार २ सय प्रतिनिधि मतदाता रहेका छन्।

रास्वपाको संगठनात्मक भविष्य र नेतृत्वको नयाँ संरचना निर्धारण गर्ने यो निर्वाचनलाई पार्टीभित्र निकै महत्त्वका साथ हेरिएको छ। पहिलो महाधिवेशनमार्फत चयन हुने नेतृत्वले आगामी राजनीतिक रणनीति, संगठन विस्तार तथा आगामी निर्वाचनको तयारीमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ। परिणामसँगै रास्वपाले आफ्नो नयाँ केन्द्रीय नेतृत्व औपचारिक रूपमा पाउनेछ।