कोशीमा मनसुन सक्रिय, पहाड–तराईमा वर्षाको सम्भावना; पश्चिमी तराईमा अझै तातो लहर

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ ०७:५५

विराटनगर / देशभर मनसुनको प्रभाव क्रमशः विस्तार भइरहेका बेला कोशी प्रदेशमा यसको सक्रियता अन्य प्रदेशको तुलनामा बढी देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार कोशीका हिमाली, पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले सार्वजनिक गरेको पछिल्लो मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका अधिकांश भूभागमा बादलको प्रभाव रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको वर्षा हुन सक्नेछ। तराईका केही क्षेत्रमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मनसुनी वायुको प्रभाव हाल कोशी, मधेस र वाग्मती प्रदेशभर कायम रहेको विभागले जनाएको छ। गण्डकीका केही भूभाग तथा लुम्बिनीको पूर्वी क्षेत्रमा पनि मनसुन सक्रिय रहेकाले ती क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ।

यता मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहनेछ। वर्षा न्यून हुँदा ती क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहने विभागको भनाइ छ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा गर्मीको प्रभाव अझै उच्च रहने अनुमान गरिएको छ। वाग्मती र गण्डकीका केही तराई क्षेत्रमा पनि ‘हट डे’ अर्थात् अत्यधिक तातो दिन अनुभव हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

रातिको समयमा पनि कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा बादलको प्रभाव कायम रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार मनसुन अझै देशभर पूर्ण रूपमा फैलिन बाँकी रहेकाले पूर्वी नेपालमा वर्षा र पश्चिमी तराईमा गर्मीको दोहोरो अवस्था केही दिन कायम रहन सक्नेछ।