कांग्रेस ‘सत्ता राजनीति’बाट ‘जनता राजनीति’तर्फ फर्किएको सभापति गगन थापाको उद्घोष

Breaking Nepal

बिहीबार ,असार ११ , २०८३ ०७:४८

झापा / नेपाली कांग्रेसले आगामी राजनीतिक यात्राको केन्द्रमा जनविश्वास पुनःनिर्माणलाई राख्ने संकेत दिएको छ । पार्टी नेतृत्वले विगतका सत्ता–केन्द्रित निर्णय, अस्थिर गठबन्धन अभ्यास र नेतृत्व तहको सत्तामुखी प्रवृत्तिले जनतामाझ कांग्रेसको छवि कमजोर बनेको निष्कर्ष निकाल्दै अब संगठन र जनताबीचको सम्बन्ध पुनःस्थापित गर्ने रणनीति अघि सारेको छ ।

झापाको बिर्तामोडमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको सबैभन्दा ठूलो चुनौती सरकार निर्माणको अंकगणित नभई जनताको भरोसा पुनः जित्नु रहेको बताए । उनका अनुसार विगतका राजनीतिक अभ्यासले कांग्रेसप्रति बढेको निराशा हटाउन पार्टीले नयाँ राजनीतिक संस्कार, सक्षम नेतृत्व र जनमुखी कार्यदिशा अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

थापाले बारम्बारको गठबन्धन निर्माण र विघटनले कांग्रेसको वैचारिक स्पष्टता तथा राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठेको स्वीकार गरे। सत्ता साझेदारी र पदकेन्द्रित राजनीतिले पार्टीको मूल चरित्र कमजोर बनाएको उल्लेख गर्दै उनले जनसमर्थनबिना प्राप्त हुने सत्ता दीर्घकालीन उपलब्धि हुन नसक्ने धारणा राखे ।

उनले कांग्रेसलाई पुनः जनताको पार्टीका रूपमा स्थापित गर्न घरदैलोस्तरबाट संगठन विस्तार, निष्क्रिय कार्यकर्ता पुनः सक्रिय बनाउने तथा शुभेच्छुकसँग सम्बन्ध सुदृढ गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए । साथै आगामी १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष र विवादरहित बनाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप संस्थागत गरिने संकेत गरे ।

कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा पुस्तान्तरणको प्रक्रिया मूलतः सम्पन्न भइसकेको उल्लेख गर्दै नयाँ पुस्ताको नेतृत्वले कांग्रेसलाई नयाँ राजनीतिक उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सुशासन र नैतिक राजनीतिको सवालमा सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै कानुनी मुद्दा सामना गरिरहेका सांसदलाई निलम्बन नहुने व्यवस्थाले गलत सन्देश दिन सक्ने बताए ।

शर्माले झापाको चिया उद्योग संकट, बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको समस्या तथा स्थानीय विकाससँग जोडिएका विषयमा राज्यको सक्रिय हस्तक्षेप आवश्यक रहेको धारणा राखे । स्थानीय जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दालाई राष्ट्रिय नीति बहससँग जोड्न कांग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

भेलामा सहभागी पार्टीका अन्य नेताहरूले संगठन सुदृढीकरण, सुशासन, सामाजिक न्याय तथा स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए ।

कांग्रेस नेतृत्वले महाधिवेशनको तयारीसँगै जनविश्वास पुनःस्थापना, संगठन पुनर्गठन र जनतासँग प्रत्यक्ष सम्पर्क विस्तारलाई प्राथमिकता दिएसँगै पार्टी आगामी निर्वाचन लक्षित रणनीतिक पुनर्संरचनातर्फ उन्मुख भएको संकेत देखिएको छ ।