Breaking Nepal

काठमाडौं / भेनेजुएलाको राजधानी काराकास आसपासको क्षेत्रमा केही सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मृतक संख्या १० हजारभन्दा बढी पुग्न सक्ने प्रारम्भिक अनुमान गरेको छ।
भूकम्पपछि राजधानी काराकाससहित प्रभावित क्षेत्रहरूमा व्यापक त्रास फैलिएको छ। दर्जनौँ भवनहरू भत्किएको, सडक तथा पूर्वाधारमा क्षति पुगेको र हजारौँ मानिस विस्थापित भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नागरिकहरू सुरक्षित स्थानको खोजीमा घर छोडेर खुला क्षेत्रमा बस्न बाध्य भएका छन्।
भेनेजुएलाका गृहमन्त्री डीओसडाडो काबेलोले नागरिकहरूलाई क्षतिग्रस्त भवनबाट टाढा रहन तथा सरकारी निर्देशनको पालना गर्न आग्रह गरेका छन्। उद्धारकर्मी, सुरक्षा निकाय र आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको बताइएको छ।
यूएसजीएसका अनुसार बुधबार राति १०ः०४ बजे (जीएमटी) काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपे नजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही क्षणपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारे क्षेत्र नजिक ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प मापन गरिएको थियो।
भूकम्पको समय भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले अधिकांश नागरिक घरभित्र रहेको जनाइएको छ। यही कारण मानवीय क्षति अझ बढी हुन सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले क्षतिको वास्तविक विवरण आउन अझ केही समय लाग्ने अधिकारीहरूले बताएका छन्।
सरकारी निकायहरूले नागरिकलाई अफवाहमा विश्वास नगर्न तथा आधिकारिक सूचनामात्र पछ्याउन आग्रह गरेका छन्। भूकम्पपछिका परकम्पनहरू जारी रहन सक्ने चेतावनीसमेत दिइएको छ।