कोशीमा भारी वर्षाको चेतावनी, तराईमा हुरीको जोखिम

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ ०७:४६

विराटनगर / मनसुनी प्रणाली थप सक्रिय बन्दै जाँदा कोशी प्रदेशमा आज र आज राति भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशीका पहाडी तथा तराई क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि यसको प्रभाव फैलिएको छ। बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनीका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्र मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशीको तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको आकलन छ । मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने जोखिमसमेत रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले भारी वर्षा, चट्याङ र हुरीको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा नदी–खोला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र कमजोर संरचनाबाट सुरक्षित रहन आग्रह गरेको छ ।