Breaking Nepal

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जोखिमपूर्ण ‘घर्ती पहरा’ (महभीर) छिचोलेर मोटरबाटो निर्माण सम्पन्न भएको छ। दशकौँसम्म पैदलयात्री र भारी बोक्ने खच्चडका लागि मात्रै प्रयोग हुँदै आएको उक्त भीर अब सवारीसाधन सञ्चालन गर्न मिल्ने सडकमा रूपान्तरण भएको हो।
आहाले–रेग्मीटार सडकखण्डअन्तर्गत साप्सु खोलाको किनारमा रहेको ठाडो चट्टान करिब पाँच महिनाको कठिन परिश्रमपछि काटेर सडक निर्माण गरिएको हो। निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, उदयपुरले गत माघ २८ गतेदेखि सुरु गरेको चट्टान कटान कार्य असार ११ गते सम्पन्न गरेको जनाएको छ।
यससँगै दिक्तेलबाट उदयपुरको गाईघाट पुग्ने वैकल्पिक मार्ग थप छोटो, सहज र सुरक्षित बनेको छ। यसअघि दिक्तेल–महुरे–बुईपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट पुग्नुपर्ने बाध्यता थियो भने अर्को विकल्पका रूपमा आहाले हुँदै राजापानी–रेग्मीटार मार्ग प्रयोग गरिन्थ्यो। घर्ती पहरा छिचोलिएसँगै अब अझ सिधा र छोटो सडकमार्फत आवतजावत सम्भव भएको छ।
स्थानीयका अनुसार महभीर भनेर चिनिने उक्त स्थान लामो समयसम्म जिल्लाकै सबैभन्दा जोखिमपूर्ण पैदलमार्गका रूपमा परिचित थियो। ढाकर तथा टेकुवा बोकेर तराई आवतजावत गर्ने यात्रुहरू यही भीर हुँदै हिँड्न बाध्य थिए। दुर्घटनामा परेर धेरैले ज्यान गुमाएको र खच्चडहरू साप्सु खोलामा खसेर मरेका घटना स्थानीय स्मृतिमा अझै ताजा छन्।
सडक निर्माण सम्पन्न भएपछि असार १३ गते कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्गसँग जोडिने सडकको उद्घाटन गरेका हुन्।
भौतिक पूर्वाधार विकास कार्यालय, खोटाङमार्फत १ करोड ७ लाख ७८ हजार रुपैयाँ लागतमा सडक स्तरोन्नतिको ठेक्का २०८२ माघ ११ गते सम्झौता गरिएको थियो। आयोजनाको निर्धारित म्याद जेठ ३१ गते सकिए पनि म्याद थप हुने अपेक्षासहित निर्माण कार्य निरन्तर अघि बढाइएको थियो।
यसैबीच जोखिमपूर्ण चट्टान काटेर सडक निर्माणमा योगदान पुर्याउने डोजर अपरेटर सिन्धुलीका प्रकाश लामा र हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई भौतिक पूर्वाधार विकास कार्यालयले सम्मान गरेको छ।
स्थानीयवासीले घर्ती पहरामा सडक निर्माणलाई केवल पूर्वाधार विस्तार मात्र नभई वर्षौँदेखिको जोखिम अन्त्य गर्दै आर्थिक, सामाजिक र यातायात पहुँच विस्तार गर्ने ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।