संखुवासभामा बाढीपहिरोको कहर : सात परिवार विस्थापित, विद्यालयदेखि सञ्चारसम्म सेवा ठप्प

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ ०७:५१

संखुवासभा / लगातारको वर्षापछि आएको बाढीपहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिकामा जनजीवन अस्तव्यस्त बनेको छ। पहिरोका कारण गाउँपालिका–१ तेन्छोङका सात परिवार विस्थापित भएका छन् भने विद्युत्, सञ्चार, सडक तथा शैक्षिक सेवा प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार रातिदेखिको अविरल वर्षापछि बस्तीमाथिको जमिन चिरा परेपछि सात परिवारलाई प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो। घटनापछि थप क्षतिको विवरण सङ्कलन तथा जोखिम क्षेत्रको अनुगमन भइरहेको प्रहरीले जनाएको छ।

बाढीपहिरोका कारण गाउँपालिका केन्द्र जोड्ने सडक अवरुद्ध भएको छ भने केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित बनेका छन्। दुई वटा माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ।

पहिरोले सिलिचोङ–१ स्थित कालिका माध्यमिक विद्यालय र सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुर्‍याएपछि दुवै विद्यालयको पठनपाठन रोकिएको छ। कालिका माध्यमिक विद्यालयका १५ वटा कक्षाकोठामा चिरा परेको तथा शैक्षिक सामग्रीसमेत क्षति भएको जनाइएको छ।

गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायतका बस्ती उच्च पहिरो जोखिममा रहेको जनाउँदै प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रदेश तथा संघीय सरकारसँग तत्काल सहयोगको माग गरिएको छ।

निरन्तर वर्षा र सडक अवरोधका कारण राहत तथा उद्धार व्यवस्थापनमा समेत कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।