इक्वेडरको विश्वकप यात्रा निराशाजनक अन्त्य, हिकापिए रातो कार्डपछि थप विवादमा

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १०:२७

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोसँगको निर्णायक खेलमा २–० को पराजय बेहोरेसँगै इक्वेडरको विश्वकप यात्रा समाप्त भएको छ। हारसँगै प्रतियोगिताबाट बाहिरिएको इक्वेडरले खेलको अन्तिम क्षणमा अर्को झट्का पनि बेहोरेको छ। टोलीका डिफेन्डर पिएरो हिकापिए इन्जुरी समयमै सिधै रातो कार्ड पाएपछि थप विवादमा तानिएका छन्।

मेक्सिको सिटीमा भएको खेलको इन्जुरी समय (९०+५ मिनेट) मा विपक्षी खेलाडीसँग भएको विवादका क्रममा हिकापिएले आक्रामक व्यवहार देखाएका थिए। ९०+४ औँ मिनेटमा सुरु भएको भनाभन र धकेलाधकेलपछि उनले अनुचित हर्कत गरेको निष्कर्षमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) पुगेपछि मुख्य रेफ्रीले सिधै रातो कार्ड दिएका हुन्।

प्रतियोगितामा केही दिनअघि पराग्वेका मिगुएल आल्मिरोन पनि समान प्रकृतिको घटनाका कारण कारबाहीमा परेका थिए। त्यसको केही दिनमै हिकापिएको अनुशासनहीन व्यवहारले विश्वकपमा खेलाडीको संयममाथि पुनः प्रश्न उठाएको छ।

जारी विश्वकपमा रेफ्रीले सिधै रातो कार्ड देखाएको यो चौथो घटना हो। इक्वेडर प्रतियोगिताबाट बाहिरिसकेकाले हिकापिएले आगामी विश्वकप खेल गुमाउने अवस्था नरहे पनि उनको व्यवहारको व्यापक आलोचना भइरहेको छ। टोलीको निराशाजनक बहिर्गमनसँगै अन्तिम समयमा देखिएको अनुशासनहीन घटनाले इक्वेडरको अभियानलाई थप तीतो बनाएको छ।