एकैदिन २,१५७ चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घनबाट २१.४० लाख राजस्व संकलन

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १०:३२

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी कडा बनाउँदै ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ जनालाई कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ८२ जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जना रहेका छन्।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा जडित सवारी सञ्चालन गर्ने २२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ५४ जना पनि कारबाहीमा परेका छन्। यसबाहेक विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५३८ चालकलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ। नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि कारबाहीलाई निरन्तरता दिइने र सुरक्षित तथा व्यवस्थित यातायात प्रणाली निर्माणमा सबैको सहयोग आवश्यक रहेको कार्यालयको भनाइ छ।