Breaking Nepal

काठमाडौं । सरकारले शिक्षा, श्रम, सुशासन, सञ्चार तथा सुरक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण नीतिगत र प्रशासनिक निर्णयहरू स्वीकृत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली संशोधनदेखि सार्वजनिक संस्थानका प्रमुख नियुक्ति, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा तथा अन्तर्राष्ट्रिय महासन्धा अनुमोदन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।
बैठकले शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि ‘शिक्षा नियमावली (दशौँ संशोधन), २०८३’ स्वीकृत गरेको छ। त्यस्तै, श्रम क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘कमैया श्रम निषेध सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३’ पारित गरिएको छ।
मन्त्रिपरिषद्ले सुशासन र सञ्चार क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण नीतिलाई पनि अनुमोदन गरेको छ। बैठकले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ लागू गर्ने निर्णय गरेको हो।
सार्वजनिक संस्थानका रिक्त नेतृत्व पदमा नयाँ नियुक्तिसमेत गरिएको छ। गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त भएका छन्। यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्का नियुक्त भएका छन्।
सुरक्षा प्रशासनतर्फ नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारले यस निर्णयले प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी र चुस्त बनाउने अपेक्षा गरेको छ।
अन्तर्राष्ट्रिय प्रतिबद्धताका सन्दर्भमा सरकारले समुद्री जैविक विविधता संरक्षणसँग सम्बन्धित महत्वपूर्ण महासन्धा अनुमोदन प्रक्रियालाई पनि अघि बढाएको छ। मन्त्रिपरिषद्ले ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन्स कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’ (बीबीएनजे सम्झौता) अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
सरकारका पछिल्ला निर्णयले शिक्षा, श्रम, सुशासन, सार्वजनिक संस्थानको व्यवस्थापन, सुरक्षा प्रशासन तथा अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनका क्षेत्रमा नीतिगत सुधारलाई एकसाथ अघि बढाएको संकेत गरेको छ।