Breaking Nepal

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयमा नयाँ शैक्षिक भवन निर्माण प्रक्रिया सुरु भएको छ। करिब ३ करोड रुपैयाँ लागतको भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको हो।
विद्यालय भवनको शिलान्यास कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा तथा काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन्।
काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुनेछ। परियोजनाको कार्यान्वयन शिवसताक्षी नगरपालिकामार्फत गरिनेछ।
निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि थप सुरक्षित, व्यवस्थित र आधुनिक शैक्षिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले शिक्षण–सिकाइ वातावरण सुधार गर्नुका साथै विद्यालयको भौतिक क्षमता विस्तारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा उपलब्ध गराउँदै आएको विकास सहयोगले स्थानीय पूर्वाधार विस्तारमा सकारात्मक प्रभाव पारेको बताएका थिए। नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज शैक्षिक वातावरण निर्माण गर्न मद्दत पुग्ने उनीहरूको धारणा थियो।
भारतीय राजदूतावासले नेपाल–भारत विकास साझेदारी शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक पूर्वाधारलगायत विभिन्न क्षेत्रमा विस्तार हुँदै आएको जनाएको छ। राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत स्थानीय आवश्यकता अनुरूपका पूर्वाधार निर्माण गरी नेपाल सरकारको विकास तथा समृद्धि अभियानलाई निरन्तर सहयोग गर्दै आइएको छ।