Breaking Nepal

विराटनगर। हीरक जयन्ती वर्ष मनाइरहेको मोरङ उद्योग व्यापार संघले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ बहिरा क्रिकेट संघका खेलाडीलाई खेल पोसाक (जर्सी) सहयोग गरेको छ।
आगामी दिनमा मोरङ बहिरा क्रिकेट संघको आयोजनामा हुने ‘चौथो प्रादेशिक क्रिकेट प्रतियोगिता’मा सहभागी खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले संघले ३० थान जर्सी हस्तान्तरण गरेको हो।
संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, महासचिव सञ्जयकुमार श्रेष्ठलगायत पदाधिकारीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरलाई जर्सी प्रदान गरेका हुन्।
कार्यक्रममा अध्यक्ष राठीले फरक क्षमता भएका खेलाडीलाई खेलकुदमार्फत आत्मविश्वास र पहिचान निर्माणमा सहयोग गर्न पाउनु संघका लागि गौरवको विषय भएको बताए। खेलकुद प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले उल्लेख गरे।
मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारीले संघको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले खेलाडीमा थप उत्साह र आत्मविश्वास बढाएको बताए। उनका अनुसार प्राप्त सहयोगले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको छ।
मोरङ उद्योग व्यापार संघले हीरक जयन्ती वर्षलाई विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रममार्फत अर्थपूर्ण बनाउने अभियानअन्तर्गत खेलकुद क्षेत्रसँगको सहकार्यलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ।