Breaking Nepal

कालीकोट– देशका विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पशु सेवा कार्यालय कालीकोटले कुखुरापालक किसान, कुखुरा फार्म तथा मासु व्यवसायीलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख धनबहादुर महतका अनुसार हालसम्म कालीकोटमा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन। यद्यपि रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारी र निगरानीलाई प्रभावकारी बनाइएको उनले बताए।
कार्यालयले जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा विशेष निगरानी गर्न, कुखुरा फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, अनावश्यक व्यक्तिको प्रवेश रोक्न तथा दाना र पानी सफा राख्न आग्रह गरेको छ।
यस्तै, कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न तथा कुखुरामा अस्वाभाविक मृत्यु वा बर्डफ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
पशु सेवा कार्यालयले रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाभर सचेतना अभियानसमेत सञ्चालन भइरहेको जनाएको छ।