Breaking Nepal

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक मोरङको रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राईलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा पिकअपमा सवार सिरहाको लहान नगरपालिका घर भई हाल विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।