Breaking Nepal

काठमाडौं / सरकारले पहिलोपटक घरायसी विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आगामी साउन १ गतेदेखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले अतिरिक्त खपतमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ भने औद्योगिक तथा व्यावसायिक ग्राहकका लागि १३ प्रतिशत भ्याट अनिवार्य हुनेछ ।
नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले आफ्नो बिलिङ प्रणाली तथा सफ्टवेयर परिमार्जनको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ । आर्थिक वर्षको पहिलो दिनदेखि जारी हुने बिलमै स्वचालित रूपमा भ्याट गणना हुने व्यवस्था मिलाइँदै रहेको प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले बताए ।
उनका अनुसार प्राधिकरण स्वयं पनि भ्याटमा दर्ता भइसकेको छ र नयाँ कर प्रणाली कार्यान्वयनका लागि आवश्यक प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ ।
सरकारले ल्याएको व्यवस्थाअनुसार ५० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले भने कुनै भ्याट तिर्नुपर्ने छैन। प्राधिकरणका अनुसार देशभर रहेका ५६ लाख ४० हजार घरायसी ग्राहकमध्ये ३० लाख ३४ हजार अर्थात् ५३.७९ प्रतिशत ग्राहक यही वर्गमा पर्छन्। यी उपभोक्ताले साउनपछि पनि हालकै दरमा विद्युत् महसुल बुझाउनेछन् ।
तथ्यांकअनुसार २० युनिटसम्म खपत गर्ने १९ लाख ९८ हजार, २१ देखि ३० युनिटसम्म खपत गर्ने चार लाख २१ हजार तथा ३१ देखि ५० युनिटसम्म खपत गर्ने छ लाख १५ हजार ग्राहक नयाँ भ्याट व्यवस्थाबाट बाहिर रहनेछन् ।
यता ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने २६ लाख ६ हजार ग्राहक भने नयाँ कर व्यवस्थाको दायरामा आउनेछन् । यो कुल घरायसी ग्राहकको ४६.२१ प्रतिशत हो। यसमा ५१–१०० युनिट खपत गर्ने १० लाख ७५ हजार, १०१–२५० युनिट खपत गर्ने १० लाख ८९ हजार तथा २५० युनिटभन्दा बढी प्रयोग गर्ने चार लाख ४२ हजार ग्राहक समावेश छन् ।
प्राधिकरणले ५० युनिट नाघ्नेबित्तिकै सम्पूर्ण बिलमा भ्याट लाग्ने भन्ने भ्रम पनि हटाएको छ। श्रेष्ठका अनुसार पहिलो ५० युनिटसम्मको महसुलमा कुनै भ्याट लाग्ने छैन । ५० युनिटभन्दा माथिको अतिरिक्त खपतमा मात्रै ५ प्रतिशत भ्याट गणना गरिनेछ ।
उदाहरणका लागि, कुनै घरायसी ग्राहकले महिनामा १०० युनिट विद्युत् खपत गरेमा कुल आधारभूत महसुल ८३५ रुपैयाँ हुन्छ । यसमध्ये पहिलो ५० युनिटसम्मको महसुलमा भ्याट नलागी बाँकी ५० युनिटको ४७५ रुपैयाँमा मात्र ५ प्रतिशत अर्थात् २३ रुपैयाँ ७५ पैसा भ्याट लाग्नेछ । यसरी ग्राहकले तिर्नुपर्ने कुल रकम ८५८ रुपैयाँ ७५ पैसा हुनेछ ।
औद्योगिक, व्यावसायिक तथा अन्य गैर–घरायसी ग्राहकका लागि भने साउन १ गतेदेखि सम्पूर्ण विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लाग्नेछ । यद्यपि, भ्याटमा दर्ता भएका उद्योगले बिजुलीमा तिरेको भ्याट उत्पादन वा सेवा बिक्रीबाट उठेको भ्याटसँग समायोजन गर्न पाउने भएकाले कर मिलानमा सहजता हुने अपेक्षा गरिएको छ ।
प्राधिकरणका अनुसार ५६ लाखभन्दा बढी ग्राहकको स्ल्याब र कर वर्गीकरणअनुसार बिलिङ प्रणाली अद्यावधिक गर्नु अहिलेको प्रमुख प्राविधिक चुनौती हो । साउन १ गतेअघि नै सबै प्रणाली सञ्चालनयोग्य बनाउने गरी प्राविधिक टोली तयारीमा जुटेको जनाएको छ ।