Breaking Nepal

झापा / नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै भारतीय नुनको अवैध आयात तथा बिक्री–वितरण बढ्न थालेपछि झापासहित पूर्वी बजारमा आयोडिनयुक्त नेपाली नुनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ। यसले उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै बजार व्यवस्थापनमा समेत चुनौती थपिएको सरोकारवालाले बताएका छन्।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बिर्तामोडका प्रमुख विष्णु न्यौपानेका अनुसार भारतीय टाटा लगायत विभिन्न ब्रान्डका नुन अवैध रूपमा सीमावर्ती क्षेत्र हुँदै नेपाली बजारमा प्रवेश गरिरहेका छन्। आयोडिनयुक्त नेपाली नुनबारे विभिन्न भ्रम फैलाइँदा कम गुणस्तरका भारतीय नुनको प्रयोग बढेको उनको भनाइ छ।
कर्पोरेशनको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ४५ हजार ७३४ क्विन्टल आयोडिनयुक्त नुन बिक्री भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म भने बिक्री घटेर ४१ हजार ९०६ दशमलव ५० क्विन्टलमा सीमित भएको छ।
न्यौपानेका अनुसार मेचीनगर, गौरादह, झापा गाउँपालिका, गौरीगञ्जलगायत सीमावर्ती क्षेत्रमा भारतीय नुनको अवैध बिक्री बढी देखिएको छ। अनुगमनका क्रममा त्यस्ता नुन जफत गरी नष्ट गरिएको उनले जानकारी दिए।
उनले आयोडिनयुक्त नुनबारे सामाजिक सञ्जाल र बजारमा फैलाइएका भ्रामक प्रचारले उपभोक्ता अन्योलमा परेको उल्लेख गर्दै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नियमित रूपमा आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गरे। अखाद्य तथा मापदण्डविपरीतका नुनको कारोबार नियन्त्रण गर्न सम्बन्धित निकायले थप प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ छ।
साल्ट ट्रेडिङले प्रत्येक वर्षझैं यस वर्ष पनि आयोडिनको महत्वबारे जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ। ‘आयोडिनयुक्त नुन खाऔँ, आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याबाट बचौँ’ भन्ने सन्देशसहित विभिन्न माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन भइरहेको कर्पोरेशनले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत (सहायक सीईओ) व्रजेश कुमार झाले सीमावर्ती क्षेत्रबाट भारतीय नुन सहज रूपमा नेपाल भित्रिनु नै आयोडिनयुक्त नेपाली नुनको बिक्री घट्नुको प्रमुख कारण भएको बताए। उनले सम्बन्धित निकायले अवैध नुनको बिक्री नियन्त्रणका लागि नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय उपभोक्ता मञ्च झापा अध्यक्ष मदनगोपाल सुब्बाले आयोडिनयुक्त नुनबारे फैलाइएका भ्रामक सूचनाले उपभोक्तामा भ्रम सिर्जना गरेको बताए। भारतीय नुनको गुणस्तरबारे उपभोक्ता सचेत हुनुपर्ने उनको सुझाव छ।
मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि ल्याइएका केही नुन उपभोग्य सामग्रीका रूपमा बजारमा बिक्री भइरहेको दाबी गर्दै मूल्यभन्दा पनि गुणस्तर र स्वास्थ्यलाई प्राथमिकता दिएर नुन छनोट गर्न उपभोक्तालाई आग्रह गरे।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले भारतबाट तस्करी गरी ल्याइएका अखाद्य नुन बिक्री भएको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिए। शंकास्पद नुनको बिक्री देखिए सम्बन्धित निकायमा तत्काल जानकारी गराउन उनले उपभोक्तासँग आग्रह गरे।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो। यसको कमीले गलगाँड, मानसिक तथा शारीरिक विकासमा अवरोध, स्मरणशक्ति कमजोर हुने तथा गर्भवती महिला र बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ।
वरिष्ठ बालरोग विशेषज्ञ टंक बाराकोटीले आयोडिनको कमीले विशेषगरी बालबालिकाको बौद्धिक विकासमा प्रत्यक्ष असर पर्ने बताए। उनका अनुसार नेपाल सरकारले प्याकिङका बेला नुनमा ५० पीपीएम आयोडिन हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ। भण्डारण र ढुवानीपछि उपभोक्ताको थालसम्म पुग्दा कम्तीमा १५ पीपीएम आयोडिन कायम रहनुपर्ने व्यवस्था छ। तर, भारतीय नुनमा प्रारम्भिक आयोडिनको मात्रा नै तुलनात्मक रूपमा कम हुने भएकाले उपभोक्ताले आवश्यक पोषक तत्व नपाउन सक्ने जोखिम रहेको भन्दै विज्ञहरूले मापदण्डअनुसारको आयोडिनयुक्त नुन प्रयोग गर्न सुझाव दिएका छन्।