संविधानको आधारभूत संरचना बदल्न सरकार तयार भए सहयोग गर्न राप्रपाको प्रस्ताव

Breaking Nepal

बिहीबार ,असार ३२ , २०८३ १७:२५

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनको बहस तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संविधानको आधारभूत संरचना परिवर्तन गर्ने विषयमा सरकार अघि बढ्न तयार भए राप्रपाले सहयोग गर्न सक्ने सन्देश प्रधानमन्त्रीसमक्ष राखेको बताए।

उनका अनुसार संविधान संशोधन कार्यदलबाट नेकपा (एमाले) लगायतका दल बाहिरिएपछि उत्पन्न परिस्थितिबारे पनि छलफल भएको थियो। अन्य दलहरूले गणतन्त्र र संघीयतामाथि हस्तक्षेप हुन लागेको आरोप लगाउँदै कार्यदल छाडेको अवस्थामा, यदि सरकार वास्तवमै संविधानको वर्तमान संरचना परिवर्तन गर्न इच्छुक भए राप्रपा सहयोगका लागि तयार रहेको धारणा प्रधानमन्त्रीसमक्ष राखिएको उनले बताए।

लिङ्देनले राप्रपाको पुरानै राजनीतिक अडान दोहोर्याउँदै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विकल्पमा संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र तथा दुई तहको शासन प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार अहिलेको तीन तहको संघीय संरचनाको सट्टा केन्द्र र स्थानीय तह मात्रै पर्याप्त हुने र राष्ट्रपतिको व्यवस्था हटाएर राजसंस्था पुनःस्थापना गरिनुपर्ने राप्रपाको धारणा छ।

धर्मनिरपेक्षताको स्थानमा हिन्दु राष्ट्रको अवधारणा स्थापित गर्नुपर्ने विषय पनि प्रधानमन्त्रीसँग उठाइएको उनले जानकारी दिए।

यद्यपि, राप्रपा संसद्मा प्रतिपक्षी भूमिकामै रहने स्पष्ट गर्दै लिङ्देनले विचार मिल्ने विषयमा सरकारले सहयोग मागे समर्थन गर्न सकिने बताए। उनका अनुसार दलगत अंकगणितभन्दा वैचारिक आधारमा राप्रपा प्रतिपक्षमा रहेको छ र संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने नीति कायम रहनेछ।