Breaking Nepal

विराटनगर / इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना विस्तार हुँदै गएपछि विराटनगरमा विद्यार्थी लक्षित साइबर सचेतना कार्यक्रम आयोजना गरिएको छ । डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र कानुनी प्रयोगबारे जानकारी दिने उद्देश्यले विराटनगर–१० स्थित मार्टस मेमोरियल कलेजमा बिहीबार एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
तीनपैनी सामुदायिक प्रहरीले विराटनगरस्थित मार्टस मेमोरियल विद्यालयका विद्यार्थीहरुलाई साइबर अपराधसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टिकटक, म्यासेन्जर तथा अन्य डिजिटल माध्यमको दुरुपयोगमार्फत हुने ठगी, फेक आईडी सञ्चालन, चरित्र हत्या, ब्ल्याकमेल, ह्याकिङ, अनधिकृत डाटा पहुँच, आर्थिक ठगी तथा साइबर बुलिङजस्ता अपराध तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै विद्यार्थीलाई डिजिटल प्लेटफर्म प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे ।
उनले सामाजिक सञ्जालमा व्यक्तिगत विवरण, बैंकिङ सूचना, पासवर्ड वा गोप्य सामग्री जथाभावी साझेदारी नगर्न, अपरिचित लिंक तथा फिसिङ सन्देशबाट सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन सुझाव दिए । साइबर अपराधसँग सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी गराउँदै उनले प्रविधिको सही प्रयोगले अवसर सिर्जना गर्ने तर यसको दुरुपयोगले गम्भीर कानुनी र सामाजिक परिणाम निम्त्याउन सक्ने बताए।
कार्यक्रममा पूर्व प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझीले साइबर अपराधको बदलिँदो स्वरूप, त्यसका चुनौती, अनुसन्धान प्रक्रिया तथा डिजिटल सुरक्षाका आधारभूत उपायबारे प्रस्तुति दिएका थिए । उनले विशेषगरी किशोर–किशोरी साइबर अपराधीको लक्ष्य बन्ने जोखिम उच्च भएकाले डिजिटल साक्षरता अभिवृद्धि गर्नु अहिलेको आवश्यकता भएको बताए ।
सामुदायिक सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मीना जोशीलगायतको उपस्थिति रहेको कार्यक्रममा कलेजको कक्षा–११ मा अध्ययनरत विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो । शिक्षक तथा शिक्षिकाहरूको समेत सहभागिता रहेको कार्यक्रममा विद्यार्थीसँग अन्तरक्रियात्मक छलफल गरी साइबर अपराधसम्बन्धी जिज्ञासाको समाधान गरिएको थियो ।
कलेज प्रशासनले प्रविधिमैत्री शिक्षासँगै डिजिटल अनुशासन र साइबर सुरक्षाबारे व्यवहारिक ज्ञान प्रदान गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा जिम्मेवार डिजिटल नागरिकको सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
सूचना प्रविधिको तीव्र विस्तारसँगै साइबर सुरक्षा विश्वव्यापी चुनौतीका रूपमा उभिएको सन्दर्भमा विद्यालय तथा कलेज तहबाटै सचेतना अभिवृद्धि गर्न सके साइबर अपराध न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मार्टस मेमोरियलका प्रिन्सिपल सीएम श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष विष्णु डंगोल, सञ्चालक अर्जुन श्रेष्ठ, इन्द्र राई, नगेन्द्रप्रसाद ढकाल, नन्दलाल मण्डल, हिरा थापालगायतको समेत उपस्थिति रहेको थियो ।