Breaking Nepal

विराटनगर / विराटनगरमा ३२औँ जगन्नाथ रथयात्रा धार्मिक श्रद्धा, उत्साह र भक्तिमय वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ। विगत ३२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रामा हजारौँ श्रद्धालु सहभागी भएका थिए।
विराटनगर–६ स्थित द्वारिका साई मन्दिरबाट सुरु भएको रथयात्रा विश्व हिन्दु परिषद् नेपालको व्यवस्थापनमा आयोजना गरिएको हो। विशेष पूजा, आरती तथा वैदिक मन्त्रोच्चारणपछि भगवान् जगन्नाथ, बलभद्र र सुभद्राको प्रतिमा राखिएको रथ नगर परिक्रमा गराइएको थियो।
रथयात्राको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पूजा–अर्चना गरी रथ तानेर गरेका थिए। उनले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणले सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। प्रदेश सरकारले यस्ता सांस्कृतिक कार्यक्रमलाई आवश्यक सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
द्वारिका साई मन्दिरबाट सुरु भएको रथयात्रा धरान रोड, बरगाछी, राधाकृष्ण मन्दिर तथा विराटनगरको मुख्य बजार क्षेत्र हुँदै पुनः मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो। यात्रा अवधिभर भक्तजनले जयघोष, भजन–कीर्तन र पूजा–आराधना गर्दै भगवान् जगन्नाथको दर्शन गरेका थिए।
आयोजकका अनुसार ३२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जगन्नाथ रथयात्रा विराटनगरको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित भइसकेको छ। आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित, भव्य र सहभागितामूलक बनाउने तयारी गरिने आयोजकले जनाएको छ।