Breaking Nepal

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको करिब ७० प्रतिशत राजस्व मात्र सङ्कलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारले कुल ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
अर्थ मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यका अनुसार उक्त रकममध्ये आन्तरिक राजस्व पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रुपैयाँ रहेको छ।
प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट एक अर्ब ७७ करोड ९५ लाख २२ हजार, सवारीसाधन करबाट दुई अर्ब २७ करोड ८० लाख ९७ हजार, सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबाट ७९ करोड ५६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। त्यस्तै, यातायात क्षेत्रबाट १२ करोड ६३ लाख ९२ हजार तथा ढुंगा, गिट्टी, बालुवा (दहत्तर–बहत्तर) बिक्रीबाट २० करोड १५ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको मन्त्रालयले जनाएको छ।
यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबाट आठ अर्ब ८६ करोड ८५ लाख ६ हजार र अन्तःशुल्क करबाट तीन अर्ब २० करोड ४३ लाख ९१ हजार रुपैयाँ प्राप्त भएको छ।
संघीय सरकारबाट समानीकरण अनुदानअन्तर्गत सात अर्ब ६ करोड १६ लाख ७८ हजार, सशर्त चालु अनुदानतर्फ दुई अर्ब १७ करोड २७ लाख ७२ हजार तथा सशर्त पुँजीगत अनुदानतर्फ एक अर्ब ५६ करोड ३० लाख ४० हजार रुपैयाँ प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले जानकारी दिए।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशकुमार झाका अनुसार आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधनको कारोबारमा आएको कमी, साथै गत भदौमा भएको जनआन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायमा पुगेको क्षतिले अपेक्षाअनुसार राजस्व उठ्न नसकेको हो।