Breaking Nepal

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेश सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको बताएका छन्। उनले प्रदेशको विशेष संवैधानिक संरचनाका कारण सरकार परिवर्तन गर्दा राजनीतिक तथा संवैधानिक जटिलता उत्पन्न हुन सक्ने बताएका हुन्।
मन्त्री पराजुलीका अनुसार कोशी प्रदेशको सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठन भएकाले यसको विघटनले प्रदेशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्न सक्छ। त्यसैले कोशीलाई अन्य प्रदेशसरह हेर्न नमिल्ने उनको भनाइ छ।
उनले केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता समीकरणमा परिवर्तनबारे चर्चा भए पनि कोशी प्रदेशमा दुवै दलबीच सहकार्य र समझदारी कायम रहेको बताए। केन्द्रबाट पनि तत्काल सरकार छाड्न कुनै निर्देशन नआएको उनको दाबी छ।
बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशको गरिमा कमजोर हुने र संघीय व्यवस्थामाथि नै प्रश्न उठ्ने खतरा रहेको उल्लेख गर्दै उनले अहिलेको आवश्यकता राजनीतिक स्थिरता र प्रभावकारी सेवा प्रवाह भएको बताए।
मन्त्री पराजुलीले कांग्रेसभित्रको आन्तरिक विवादका कारण निर्णयमा ढिलाइ भएको भन्ने चर्चा अस्वीकार गर्दै कोशी प्रदेशमा कांग्रेस एकताबद्ध रहेको र एमालेसँग पनि सहकार्यको वातावरण रहेको बताए। उनले प्रदेशलाई अस्थिरताबाट जोगाउँदै विकास र सुशासनमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।