Breaking Nepal

सप्तरी । सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरूले आन्दोलन गरेपछि कारागार परिसर तनावग्रस्त बनेको छ।
राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता गरेको तथा कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलरको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
आन्दोलन नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेपछि केही समय तनाव बढेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि स्थिति थप जटिल बन्न सक्ने देखिएपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।
राजबिराज–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार नियुक्त गराइदिने भन्दै कारागारका चौकीदार कामेश्वर यादवमार्फत जेलरको नाममा पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्। उक्त रकम कारागार बाहिरका विनोद यादव नामका व्यक्तिमार्फत बुझाइएको दाबी पनि उनले गरेका छन्।
घटनापछि कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई समेत घटनास्थलमा प्रवेश गर्न रोक लगाइएको छ।
यता, रकम असुलीको विषयमा विवाद चर्किएपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएपछि ‘बी ब्लक’का कैदीबन्दीमाथि कुटपिट भएको आरोपसमेत लागेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी प्रवेश गर्न खोज्दा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको पुष्टि गरे। उनका अनुसार हाल दुवै पक्षबीच छलफल र सम्झाइबुझाइपछि अवस्था सामान्य बन्दै गएको छ।
प्रमुख जिल्ला अधिकारी थापाले ‘बी ब्लक’का चौकीदार राम रिजनले कैदीबन्दीहरूप्रति विभेदपूर्ण व्यवहार गरेको आरोपपछि विवाद सुरु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।