Breaking Nepal

काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानका कारण कम्तीमा २३ जिल्ला बाढी, पहिरो तथा डुबानको उच्च जोखिममा परेका छन् ।
उच्च जोखिममा रहेका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा रहेका छन् ।
जोखिमको अवस्था मध्यनजर गर्दै प्राधिकरणले ती जिल्लामा विशेष गरी रातिको समयमा सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ । मौसम तथा विपद्को अवस्था थप जटिल बनेमा आवश्यकताअनुसार जुनसुकै बेला सडक आवागमनसमेत रोक्न सकिने जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि आगामी दुई दिन देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने र कोशी, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बग्ने, नदी कटान तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानको तयारी, नदी तथा खोलानजिक अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासनको सूचनालाई प्राथमिकताका साथ पालना गर्न पनि अनुरोध गरिएको छ ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ४८ घण्टा मौसम प्रणाली सक्रिय रहने भएकाले सम्भावित विपद्लाई ध्यानमा राखी आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।