Breaking Nepal

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कामा ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म प्र ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा प्र ०३–००१ ख ५२८४ र बा प्र ०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करको प्रभावले एउटा बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम–९ का ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौँडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा–५ की ४६ वर्षीया ऋतु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरीका ३२ वर्षीय सफल मगर तथा सुन्दरहरैँचा–५ कै ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। सफल मगरको प्रारम्भिक उपचार चन्द्रपुरस्थित सीमन्त हाइवे अस्पतालमा गरिएको भए पनि उनी उपचारका क्रममा आफैँ अस्पतालबाट बाहिरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका–३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको प्रारम्भिक परीक्षणबाट पुष्टि भएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।