सप्तकोशीमा जलप्रवाह २ लाख ११ हजार क्युसेक नाघ्यो, कोशी ब्यारेजका २९ ढोका खोलिए

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ २०:०७

धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि सुनसरी प्रशासन उच्च सतर्क अवस्थामा पुगेको छ। सम्भावित बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले विपद् प्रतिकार्य तयारीलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ।

आइतबार साँझ ६ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिक्षण २ लाख ११ हजार ७७५ क्युसेक पुगेपछि २९ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यसअघि दिउँसो ४ बजे गरिएको मापनमा बहाव २ लाख ९ हजार ८४० क्युसेक पुगेपछि २८ वटा ढोका सञ्चालनमा ल्याइएको थियो।

प्रहरीका अनुसार जलप्रवाह बढ्दो क्रममा रहे पनि तत्काल आत्तिनुपर्ने अवस्था छैन। कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था रहेको छ। हाल जलप्रवाह सो सीमाभन्दा माथि पुगेकाले ब्यारेजको दुवै छेउमा रातो बत्ती बालिएको छ।

बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले यसअघि नै कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका थिए। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार बाढी, डुबान र कटानको जोखिम व्यवस्थापनका लागि जिल्लाको विपद् प्रतिकार्य योजना पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ।

सम्भावित विपद्का बेला उद्धार, राहत वितरण, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनासम्मका सबै तयारी पूरा गरिएको प्रशासनले जनाएको छ। साथै, तटबन्ध वा अन्य संरचनामा क्षति पुगेमा सम्बन्धित निकाय र सुरक्षा संयन्त्र तत्काल परिचालन हुने व्यवस्था मिलाइएको छ।

प्रशासनले कोशी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई नदीको सतह र मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन तथा अनावश्यक रूपमा नदी किनारमा नजान आग्रह गरेको छ।