विराटनगरमा हर्क साम्पाङको गर्छन् श्रम संस्कृतिबाट मात्रै देशको समृद्धि सम्भव 

Breaking Nepal

आइतबार ,साउन ३ , २०८३ २१:४८

विराटनगर / पहिचानवादी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले श्रमप्रतिको सम्मान र काममुखी संस्कृतिको विकास बिना मुलुकको समृद्धि सम्भव नहुने बताएका छन् ।

विराटनगरस्थित विष्णुमाया पुस्तकालयको सभाहलमा आइतबार आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष साम्पाङले आफ्नो पार्टी कुनै निश्चित समुदाय वा वर्गको नभई सम्पूर्ण नेपालीको साझा राजनीतिक अभियान भएको बताए ।

उनले परम्परागत राजनीतिक दलभन्दा पहिचानवादी श्रम संस्कृति पार्टीको सोच, कार्यशैली र राजनीतिक अभ्यास फरक रहेको उल्लेख गरे । “हामी जहाँ पुग्छौँ, त्यहीँबाट काम सुरु गर्छौँ । हरेक दिन समाजका लागि के काम गर्‍यौँ भन्ने नै हाम्रो राजनीतिक मूल्य हो,” उनले भने ।

साम्पाङले विचार र व्यवहारबीचको एकरूपता नै पार्टीको मूल दर्शन रहेको उल्लेख गर्दै श्रमलाई सम्मान गर्नु नै वास्तविक राजनीतिक संस्कार भएको धारणा राखे । कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै उनले नेतृत्वले पनि श्रममा प्रत्यक्ष सहभागी हुनुपर्ने बताए ।

“हामी प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि काम गर्न तयार छौँ । सडकमा पनि काम गर्छौँ । खेतबारीमा पनि श्रम गर्छौँ । श्रमलाई सम्मान गर्नु नै हाम्रो पार्टीको पहिचान हो,” उनले भने ।

नगर अध्यक्ष रामप्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष प्रताप राई, केन्द्रीय सचिव इन्दिरा राई, केन्द्रीय सदस्य प्रसाद राई, प्रदेश सदस्य नरेन्द्र चाम्लिङ राई तथा उम्मेदवार कृष्ण अटललगायतले पार्टीको नीति, विचार र आगामी कार्यक्रमबारे धारणा राखेका थिए ।

कार्यक्रमका क्रममा ४० भन्दा बढी व्यक्तिले पहिचानवादी श्रम संस्कृति पार्टीको सदस्यता ग्रहण गरेको नगर कोषाध्यक्ष सपना राईले जानकारी दिइन् ।

कार्यक्रममा बालकुमारी राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन घनश्याम चाम्लिङले गरेका थिए ।