Breaking Nepal

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि अझ सक्रिय बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा केही स्थानमा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ भने मधेस, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
विभागले भारी वर्षाका कारण पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। विशेष गरी नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र र लामो दूरीको यात्रा गर्नेहरूले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।