Breaking Nepal

झापा / स्थानीय तह निर्वाचन हुन अझै केही समय बाँकी रहे पनि बिर्तामोड नगरपालिकाको भावी नेतृत्वलाई लिएर राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। विशेषगरी नेकपा एमालेभित्र मेयर पदका लागि आकांक्षी नेताहरू सक्रिय बन्दै गएपछि उम्मेदवारीको चर्चा चुलिएको हो।
एमाले स्रोतका अनुसार नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, पूर्वनिजामती कर्मचारी देवराज कार्की, नगर अध्यक्ष सुवास भट्टराई, नगर अध्यक्षका पूर्वप्रत्याशी शेखर कँडेल, वडा नं. ७ का अध्यक्ष अविरलकृष्ण खरेल तथा वडा नं. २ का अध्यक्ष किशोर पौड्याल मेयर पदका सम्भावित दाबेदारका रूपमा देखिएका छन्। उनीहरूले औपचारिक उम्मेदवारी घोषणा नगरे पनि संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधिलाई तीव्र बनाएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनअघि पनि एमालेभित्र मेयर पदका लागि सात जनासम्म आकांक्षी देखिएका थिए। अन्ततः पार्टीले पवित्रा महतारा प्रसाईलाई मेयर र नगेन्द्रप्रसाद संग्रौलालाई उपमेयरको उम्मेदवार बनाएको थियो। त्यसअघि ध्रुवकुमार शिवाकोटी, एकराज कार्की, उमानाथ ओली, देवराज कार्की र सुवास भट्टराई समेत टिकटको दौडमा थिए।
उक्त निर्वाचनमा एमालेले कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई पराजित गर्दै बिर्तामोडको नेतृत्व कायम राखेको थियो। मेयरमा पवित्रा महतारा प्रसाईले नेपाली कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले हराएकी थिइन् भने उपमेयरमा नगेन्द्रप्रसाद संग्रौलाले गठबन्धनका उम्मेदवार सीपी कडरियालाई ७ हजार १३५ मतले पराजित गरेका थिए।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेले नगर नेतृत्व आफ्नो पक्षमा पारेको थियो। त्यतिबेला ध्रुवकुमार शिवाकोटीले कांग्रेसका जलकुमार गुरुङलाई ८९५ मतान्तरले हराउँदै मेयर निर्वाचित भएका थिए।
आगामी निर्वाचनमा भने बिर्तामोडको चुनावी प्रतिस्पर्धा अघिल्ला चुनावभन्दा फरक हुने आकलन गरिएको छ। विगतमा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस भए पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभावका कारण चुनावी समीकरण थप रोचक बन्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। यस्तो अवस्थामा एमालेका लागि उम्मेदवार छनोट मात्र होइन, प्रभावकारी चुनावी रणनीति तय गर्नु पनि चुनौतीपूर्ण हुने देखिएको छ।