साउनको पहिलो सोमबार : झापासहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ ०९:२७

झापा : साउन महिनाको पहिलो सोमबारका अवसरमा झापासहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान् शिवको विशेष पूजा–आराधना तथा जलाभिषेक गर्न श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगेका हुन्।

राजधानीको पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारवटै ढोका खोलिएपछि दर्शनार्थीको घुइँचो लागेको छ। साउने झरीका बीच पनि भक्तजनले जल, दूध, बेलपत्र, धतुरो र फूल चढाएर शिवको पूजा–आराधना गरिरहेका छन्। दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न सामाजिक एवं धार्मिक संस्थालाई परिचालन गरिएको छ।

झापामा पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारास्थित जलेश्वरधाम, बाह्रदशी गाउँपालिकाको साधुकुटी कञ्चनगढ, सताक्षीधाम तथा जिल्लाका अन्य शिवालयमा पनि बिहानैदेखि श्रद्धालुको ठूलो उपस्थिति देखिएको छ। झापासँगै मोरङ, सुनसरी, इलाम तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत भक्तजन दर्शनका लागि पुगेका छन्।

साउने सोमबार भगवान् शिवको विशेष आराधनाको दिन मानिन्छ। यस दिन व्रत बस्ने, शिवलिङ्गमा जलाभिषेक गर्ने र बेलपत्र अर्पण गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

यस अवसरलाई मध्यनजर गर्दै सम्बन्धित प्रशासनले मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने भक्तजनलाई व्यवस्थित रूपमा दर्शन तथा पूजा–आराधना गर्न आग्रह गरेको छ।