Breaking Nepal

झापा : विभिन्न आपराधिक आरोपमा अनुसन्धानको दायरामा रहेका बिर्तामोड–४ निवासी गंगा गिरीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको जिम्नी जीप मेची भन्सार कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार डब्लुबी ७४ बीआर ७२१४ नम्बरको मारुती सुजुकी कम्पनीको कालो जिम्नी आवश्यक कागजात तथा कानुनी प्रक्रिया पूरा नभएको पाइएपछि अवैध ठहर गर्दै भन्सार कार्यालयमा बुझाइएको हो।
प्रारम्भिक अनुसन्धानबाट उक्त सवारी गंगा गिरीको नाममा नभई एक भारतीय नागरिकको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।
त्रिशुल सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका ४४ वर्षीय गिरीलाई प्रहरीले असार २५ गते बिर्तामोड–३ स्थित बिर्ताबजारबाट पक्राउ गरेको थियो। उनीमाथि आपराधिक लाभ (एक्स्टर्सन), शरीर बन्धक तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
हाल गिरी जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन्। जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथिको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।