Breaking Nepal

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग उच्चस्तरीय छलफल गर्ने भएका छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे तय गरिएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।
यस्तै, पुँजी बजारसँग सम्बन्धित प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि छलफलमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको विस्तार, बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत तथा संरचनागत सुधारका आवश्यकता, लगानीमैत्री वातावरण निर्माण र समग्र अर्थतन्त्रसँग जोडिएका समसामयिक विषयमा केन्द्रित भएर धारणा आदान–प्रदान हुनेछ।
पछिल्लो समय पुँजी बजार सुधार, नियामकीय संरचनाको प्रभावकारिता, लगानीकर्ता विश्वास अभिवृद्धि तथा वित्तीय क्षेत्रको स्थायित्वका विषय चर्चामा रहेका बेला प्रधानमन्त्रीले सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न लागेकोलाई अर्थतन्त्रसँग सम्बन्धित महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।